दाङ, २२ माघ ।
निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको रिक्त स्थानमा पदपूर्तिका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।
रिक्त २३ पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।
‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ’, शर्माको विज्ञप्तिमा भनिएको छ, ‘आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ । साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ ।
विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ ।’ भनिएको छ ।
२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन भएको थियो भने २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । विभिन्न कारणले निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस