after_navbar

६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु


फागुन ०४, २०८०


काठमाडौं, ४ फागुन । सरकारले हुलाक टिकट छाप्न सुरु गरेको छ । सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको हो । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो। यसरी छापिएको टिकटलाई सरकारले आजदेखि प्रचलनमा ल्याएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टाँचा प्रदान गरेसँगै नेपालमै हुलाक टिकट प्रकाशनको औपचारिक सुरुवात भएको हो। हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा शुक्रबार मन्त्री शर्माले नेपालमै प्रकाशित भएका हुलाक टिकटमा टाँचा लगाएका हुन् ।

वि.सं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि भने विभिन्न देशमा छाप्ने गरिएको थियो। यो वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको छ। यसबाट सस्तो मूल्यमा टिकट छाप्न सकिने भएकाले राज्य कोषको बचत हुन जाने सरकारको विश्वास छ।

सञ्चार मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा सम्भव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री दिनानाथ शर्मा र रामकुमारी झाँक्री, सहिद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, सहिद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="