दाङ, ६ फागुन । मापदण्ड मिचेर अनाधिकृत रुपमा सञ्चालनमा आएका ट्रायल सेन्टरहरु बन्द गरिने भएको छ । लुम्बिनी सरकाले नियमन गरेर यस्ता टा्रयल सेन्टरहरु बन्द गरिने उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले बताए । मन्त्रालयले मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरू तत्काल बन्द गराउन यातायात कार्यालयहरुलाई निर्देशन दिदै परिपत्र समेत गरिसकिएको छ ।
फरक-फरक स्थानमा दर्ता भएका ड्राइभिङ स्कुलहरुलाई यातायात कार्यालयमा सूचीकरण गर्ने र यातायात व्यवस्था विभागले बनाएको मापदण्ड नपुगेकालाई बन्द गराउने निणर्य गरेको मन्त्री थापाले बताए । मन्त्री थापाले प्रदेश मातहतका नौवटै यातायात व्यवस्था कार्यालयका प्रमुखहरुको संयुक्त बैठक गरि यस्तो निणर्य गराएका हुन ।
‘लुम्बिनी प्रदेशभरका विभिन्न जिल्लाहरूमा निजी क्षेत्रबाट सञ्चालन गरिएका सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्रहरू मापदण्ड विपरीत सञ्चालन भएको भन्ने जनगुनासालाई सम्बोधन गर्न सम्बन्धित कार्यालयले तत्काल अनुगमन गरी मापदण्ड पुगेकालाई मात्र सूचिकृत र अन्यलाई सञ्चालनमा रोक लगाउने ।’ निणर्यमा भनिएको छ ।
मापदण्ड नपुगेका ट्रायल सेन्टरहरूले बिचौलियाको काम गरेर सेवाग्राहीसँग मोटो रकम असुलेको जनगुनासो समेत आइरहेकाले त्यसलाई समेत रोक्ने गरी तयारी गरिएको मन्त्री थापाको भनाइ छ ।
साथै लाइसेन्सका परीक्षार्थीहरुलाई ट्रायल दिन आएको बेलामा पनि बायोमेट्रिक हाजिरी गराउने निणर्य गरिएको छ । नक्कली परीक्षार्थीहरुलाई रोक्ने उद्देश्यले चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा दिने बेलामा पनि बायोमेट्रिक हाजिर गराउने निणर्य गरेको मन्त्री थापाले बताए । सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्न उक्त परीक्षाहरूमा प्रवेश गर्दा डिजिटल प्रविधिमार्फत हाजिर गराउने निणर्य गरिएको हो ।
अहिलेको व्यवस्थामा सुरुमा बायोमेट्रिक लिइए पनि प्रयोगात्मक परीक्षाको बेला लिने गरिएको छैन । सुरुमा बायोमेट्रिक दिएको परीक्षार्थीको औंठा छाप ट्रायल दिने व्यक्तिसँग मिल्छ कि मिल्दैन भनेर म्याचिङ गर्नका लागि पनि बायोमेट्रिक हाजिर गराउने निणर्य भएको हो,’ मन्त्रालयका सचिव उमेश ढुंगानाले भने, ‘यसको उद्देश्य लाइसेन्सको परीक्षामा विश्वसनीयता थप्ने हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस