दाङ,८ फागुन । दाङको तुलसीपुरमा रहेको मानवसेवा आश्रमको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । आश्रमको आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको हो । तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरमा रहेको आश्रममा भएको आम्दानी, खर्च र बचतको बारेमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलन मार्फत आश्रमले कुल आम्दानी र खर्चको विवरण प्रस्तुत गरेको थियो । मानवसेवा आश्रमका वित्त विभाग प्रमुख अस्मिन गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार दाङ शाखा आर्थिक वर्ष २०७९÷८० मा १३.४७ प्रतिशतले घाटामा रहेको देखिएको छ ।
गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार तुलसीपुरमा आश्रम स्थापना भएको पहिलो वर्षमा ३४ लाख ६१ हजार ७३ रुपैयाँ आम्दानी भएको थियो । आश्रममा ३९ लाख ९९ हजार ९ सय ४० रुपैयाँ खर्च भएको थियो भने आम्दानी र खर्चलाई तुलना गर्दा ५ लाख ३८ हजार ८ सय ८६ रुपैयाँ घाटा भएको देखिएको छ ।
दान तथा चन्दा संकलनबाट ३४ लाख १३ हजार १२ रुपैयाँ र अन्य आम्दानी शिर्षकमा ४८ हजार ६१ रुपैयाँ गरी कुल आम्दानी ३४ लाख ६१ लाख १ हजार ७३ रुपैयाँ रहेको छ ।यसैगरी, आश्रम सञ्चालनमा ३१ लाख २२ हजार ८ सय ९७ रुपैयाँ, प्रशासनिक खर्च १ लाख ५ हजार ४ सय ८२ रुपैयाँ, कार्यक्रम खर्च ६ हजार रुपैयाँ, कर्मचारी खर्च ४ लाख ४८ हजार रुपैयाँ, मर्मत तथा सम्भार खर्च ४४ हजार ६ सय ३७ रुपैयाँ र ह्रासकट्टी २ लाख ७२ शजार ९ सय २४ रुपैयाँ गरी कुल खर्च ३९ लाख ९९ हजार ९ सय ४० रुपैयाँ रहेको छ ।
आश्रमको शाखा स्थापनाको पहिलो आर्थिक वर्षमा दाङका २ वटा पालिका र वडाहरुबााट १४ लाख १२ हजार २ सय ५२ रुपैयाँ प्राप्त भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । जममध्ये सबैभन्दा धेरै रकम तुलसीपुर उपमहानगरपालिकाले उपलव्ध गराएको छ । तुलसीपुर उपमहानगरपालिकाबाट १२ लाख १३ हजार २ रुपैयाँ, बबई गाउँपालिकाबाट १ लाख रुपैयाँ बजेट मानवसेवा आश्रमलाई उपलव्ध गराइएको छ । यसैगरी, आश्रमका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बाट ५० हजार रुपैयाँ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बाट ४९ हजार २ सय ५० रुपैयाँ रकम प्राप्त भएको छ ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गौतमले तुलसीपुरमा शाखा स्थापना भएको पहिलो वर्ष भएकाले पनि आर्थिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको बताए । उनले आश्रम सञ्चालनमा विभिन्न तवरले सहयोग प्रदान गरी मानवीय सेवामा सहभागी भएका सम्पूर्ण दानदातालाई धन्यवाद प्रकट गरेका छन् । आगामी दिनमा पनि यसैगरी सक्दो सहयोग र सबैको हातेमालोबाट आश्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नुका साथै निरन्तर साथ सहयोगको अपेक्षा समेत गरे ।
आर्थिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा जनप्रतिनिधी, पत्रकार र स्थानीयहरुको उपस्थिती रहेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस