काठमाडौ, १ चैत । वैदेशिक रोजगारीको लागि कुवेत गएका तीनजना नेपालीको मृत्यु भएको छ। कुवेत स्थित महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान कारले ठक्कर दिंदा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक- ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।
नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।
नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए ।
त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।
तस्वीर: साभार
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस