after_navbar

पत्रकार महासंघको चुनाव सर्ने


जेठ २२, २०८१


काठमाडौँ, २२ जेठ । यहि जेठ २६ गते हुने भनिएको नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । सदस्यता शुद्धिकरण र नामावली विषयमा उत्पन्न विवादका कारण तोकिएको समयमा चुनाव नहुने भएको छ ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए ।

ad

केन्द्रीय समितिमा रहेका भूगोलका पत्रकारहरुको विवाद समाधान नभएका कारण केही समयका लागि चुनाव सार्ने सुझाव आएको र त्यस विषयमा छलफल गरी निष्कर्षमा पुग्ने तयारी भइरहेको उनले बताए । उनका अनुुसार मतदाता नामावलीमा लगभग सहमति भइसकेको छ । आज निर्वाचन समितिलाई नामावली बुझाउने सम्भावना देखिएको छ ।

जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र कुनै नाममाथि उजुरी परेको छ वा विवाद छ भने त्यसलाई महासंघले गठन गरेको समितिले सच्याएर निर्वाचन समितिलाई बुझाउने सहमति बनेको उनले बताए ।
अब ३१–३२ गतेतिर चुनाव हुने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

महासंघका सचिव गोविन्द चौलागाईंले सक्रिय पत्रकारिता गर्ने कोही पनि पत्रकार छुट्न हुँदैन भन्ने मान्यता सबैमा रहेको बताए । उनले भने, ‘जिल्लाबाट आएका कतिपय मतदाता नामावलीमा विवाद देखिन्छ, कतिपय आउनुपर्ने पत्रकार आएका छैनन्, कतिपय आउनु नपर्ने पनि आएका छन् यी सबैलाई मिलाइएर अगाडि बढ्ने कुरा भएको छ ।’

महासंघको सदस्य शुद्धीकरणबारे अध्ययन गर्न सुरुमा धर्मेन्द्र कर्णको नेतृत्वमा समिति गठन भएको थियो । सो कमिटीले चित्तबुझ्दो काम नगरेपछि महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा अर्को समिति बनेको थियो । सो समितिले पनि छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="