after_navbar

पढाउँछु भन्दै बालबालिका काठमाडौँ लैजादै गरेका एक व्यक्ति पक्राउ


जेठ २२, २०८१


विरेन्द्रनगर ,२२ जेठ । पढाउने भन्दै बालबालिकाहरुलाई काठमाडौँ लैजादै गरेका एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौँ लैजादै गरेका नाम्गेल छिरिङलाई प्रहरीले वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट पक्राउ गरेको हो ।

ad

छिरिङसँग २८ जना बालबालिका थिए। आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई काठमाडौंमा आवाससहितको शिक्षा दिने भनेर लैजान लागेको बयान छिरिङले दिएको सुर्खेत प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए।

ती बालबालिकालाई बाबुआमाकै आग्रहमा आफूले काठमाडौं लैजान लागेको छिरिङले बताएको एसपी खड्काले जानकारी दिए। काठमाडौंको कुन शिक्षालयमा अध्ययनका लागि लैजान लागेको भन्ने कुराचाहिँ नखुलेको उनले बताए।

खड्काका अनुसार धेरैजसो बालबालिकालाई सम्बन्धित वडा कार्यालयले पनि सिफारिस पनि बनाइदिएका छन्। बालबालिका कुन पालिका र कति नम्बर वडाका हुन् भन्ने विषयमा भने प्रहरीले खुलाएको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए।
उनका अनुसार राति नियन्त्रणमा लिईएका बालबालिकालाई तत्काल व्यवस्थापनको लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मा लगाइएको छ।

‘तत्काल हामीले बालबालिकाको व्यवस्थापनको लागि भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिएका छौं, उनले भने– ‘ साथमा लिन लागेका व्यक्तिलाई नियन्त्रणमै राखेका छौं । ’

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनीता ज्ञवालीले ती बालबालिकालाई आ–आफ्नो घरमा फिर्ता गरिने बताइन्। उनका अनुसार २८ मध्ये १२ जना बालक छन् भने १६ जना बालिका छन्।

सम्बन्धित निकायसँगको सहकार्यमा बालबालिकाको खाना र आवासको व्यवस्थापन गरिएको उनले जानकारी दिइन्। ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गर्दैछ, हामीले समन्वय गरेर तत्काल सुर्खेत बस्न व्यवस्थापन गरेका छौं,’ उनले भनिन्, ‘कानुनी रुपमा ती बालबालिकालाई यत्तिकै कसैसँग छोड्न मिल्दैन, घर फर्काउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="