after_navbar

सहकारी ठगीमा ७ जना कारागार चलान


असार ०८, २०८१


कास्की, ७ असार। प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा कास्की जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । यस्तै, २ जना धरौटीमा रिहा भएका छन् ।

ad

न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उक्त मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । यस्तै, थुनामा जानेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगर हुन् ।

सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी मदन घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ ।

८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित ६५ जनालाई उक्त मुद्दामा प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोग दायर गरेकोमा ३ दिनसम्म थुनछेक बहस भएको हो । हालसम्म ९ जना उपस्थित भए पनि अन्य ५६ जना प्रतिवादी फरार छन् ।

प्राइमको ठगी प्रकरणमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारी कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारी समेत मुछिएका छन् ।

विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धानबमोजिम १ अर्ब ५७ करोड १५ लाख हिनामिना भएको देखाइएपछि सरकारी वकिल कार्यालयले सोही रकम आधार मानेर अभियोगपत्र दायर गरेको हो । सहकारीमा बचत खाता कुल ३ हजार ५ सय ८५ वटा र १ हजार ८ सय ६२ बचतकर्ता छन् । प्रहरीले उजुरी आह्वान गरेकोमा ९ सय ९२ जनाले उजुरी दिएका थिए ।

गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रदेशसचिव बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी समेत यो ठगी प्रकरणमा मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="