लमजुङ, १२ असार । पहिरोले घर बगाउँदा बेपत्ता भएका चारैजनाको शव भेटिएको छ । मंगलबार राती गएको पहिरोमा परी एकै परिवारका चारजना बेपत्ता भएका थिए । लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा पहरोमा हराएका उनीहरुको शब भेटिएको क्व्होलासोथार गाउँपालिकाका अध्यष शूर्यप्रसाद गुरुङले जानकारी दिए।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार पहिरोले ३ वटा घर बगाएको थियो । जसमध्ये २ घरका ४ जना बेपत्ता भएका थिए । स्थानीय, प्रहरी र जनप्रतिनिधिले खोजतलास गरेकोमा बुधबार दिँउसो चारैजनाको शव फेला परेको हो।
उद्धार कार्यमा खटिएका जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार पहिरोमा परेर ७० वर्षिय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने रुद्रमानका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ९ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता भन्ने निष्मा गुरुङको शव फेला परेको छ । ३६ वर्षीय भीमबहादुर घले घाइते रहेको र उपचारका लागि सदरमुकाम बेंसीसहर पठाइएको उनले बताए ।
क्व्होलासोथार गाउँपालिका ३ का वडाअध्यक्ष आसबीर गुरुङले आमा र २ छोरीको शव घरबाट करिब १५–२० मिटरमुनि हुमदेवी गुरुङको धन्सारको आडमा एकैठाउँमा फेला परेको बताए । रुद्रमानको शव भने आफ्नै आँगनको तल्लो कुनामा भेटिएको उनले बताए । प्रहरीले अहिले पोस्टमार्टम गरिरहेको छ । योसँगै लमजुङमा पहिरोबाट मर्नेको संख्या ५ पुगेको छ ।
दोर्दी गाउँपालिका ९, धैरेनी सुनारगाउँमा मंगलबार राति पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन् ।
२ दाजुभाइ सुतिरहेको अवस्थामा माथिबाट पहिरो घरमा खसेपछि दुवैजना घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइकोमा अस्पताल ल्याउनेबित्तिकै विकललाई बुधबार बिहान ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते मिलनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस