दाङ ,१५ असार । यस वर्ष मध्य असारसम्म ९.८ प्रतिशतमात्रै रोपाइँ भएको छ। सिँचाइ र मलखादको अभावका कारण अधिकांश खेत बाँझै छन्।
सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरेको छ। यस वर्ष कृषि तथा पशुपन्छी मन्त्रालयले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा दिएको छ।
तर, सिँचाइको अभावले समयमा धान रोप्नुपर्ने समस्या बर्सेनि दोहोरिने गरेको छ। आकाशेपानीकै भरमा धान खेती गर्नुपर्ने बाध्यता किसानको छ।
यस वर्ष पनि लामो खडेरी र वर्षा सुरु नभएका कारण धान रोपाइँ गर्न सकिरहेका छैनन्। यस वर्ष १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा धान रोपाइँ भएको छ। जुन, ९.८ प्रतिशतमात्रै हो। यस वर्ष मुलुकभर १३ लाख ९८ हजार ८ सय ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदैछ।
तर अझै १२ लाख ६२ हजार ४ सय २५ हेक्टर जमिनमा धान रोपाइँ गर्न बाँकी रहेको कृषि विभागको तथ्यांकमा उल्लेख छ। यसअनुसार अझै ९०.२ प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ।
यद्यपि, गत वर्षको भन्दा भने केही बढी भागमा धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा ८.७५ प्रतिशत धान रोपिएको थियो। तर, २०७९ सालमा भने ३०.७१ प्रतिशत रोपाइँ भएको थियो। असार मध्य हुँदा पनि मुलुकभर बर्खे धान रोपाइँ औसत कम छ।
आकाशेपानीकै भर पर्नुपर्ने बाध्यता र मनसुन ढिलाइ हुँदा धान रोपाइँ कम हुने गरेको कृषि विभागका प्रवक्ता डा. अरुण काफ्ले बताउँछन्। उनका अनुसार धानको लागि सिँचाइ सुविधा भएको क्षेत्रफल एकदमै कम छ। ‘मुलुकभर करिब २५ प्रतिशत क्षेत्रफलमा सिँचाइको सुविधा भएकाले समयमै रोपाइँ हुन्छ। यसबाहेकका क्षेत्रमा भने पानी परे मात्रै समयमा हुन्छ।
यस वर्ष सबैभन्दा बढी सुदूरपश्चिम र कर्णालीमा रोपाइँ भएको छ। सुदूरपश्चिममा २५ प्रतिशत धान रोपिएको छ। १ लाख ७४ हजार ५ सय ७६ हेक्टर जमिनमध्ये ४३ हजार ६ सय ३४ हेक्टरमा रोपाइँ भइसकेको छ।
यस्तै, कर्णालीमा २३.९ प्रतिशत रोपाइँ भएको छ। ४१ हजार ९ सय ४ हेक्टरमध्ये १० हजार १० हेक्टरमा रोपाइँ भइसकेको छ। यो गत वर्षको भन्दा बढी हो।
गत वर्ष २२.६ प्रतिशत हाराहारीमा भएको थियो। हालसम्म सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। जहाँ २.९ प्रतिशतमात्रै रोपाइँ भएको छ।
कुल ३ लाख ८३ हजार १ सय ५० हेक्टर जमिनमध्ये ११ हजार ४० हेक्टर मात्रै रोपाइँ भएको हो। यस्तै कोशी प्रदेशमा १७ प्रतिशत रोपाइँ भएको छ। २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये १५ हजार ३ सय ६० हेक्टर मात्रै हो।
यसैगरी बागमती प्रदेशले यसपटक १८.३ प्रतिशत रोपेको छ। यो कुल १ लाख १२ हजार २ सय ७३ हेक्टरमध्ये २० हजार ५ सय ५० हेक्टर हो।
यस्तै, गण्डकी प्रदेशमा ८.३ प्रतिशत अर्थात् ९८ हजार ९ सय ४ हेक्टरमध्ये ८ हजार २ सय ४७ हेक्टरमा रोपाइँ भएको छ। यता लुम्बिनी प्रदेशमा पनि ८.८ प्रतिशत अर्थात् कुल ३ लाख ११ हजार ६ सय ४३ हेक्टर जमिनमध्ये २७ हजार ५ सय ७० हेक्टर हो।
रोपाइँ कम हुनुको मुख्य कारण सिँचाइ अभाव हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस