after_navbar

कम हुन सकेन मानव अधिकार उल्लंघनका घटना


असार १७, २०८१


सल्यान, १५ असार । सल्यानमा मानव अधिकार उल्लंघनका घटनामा कमि आउन सकेको छैन । अनौपचारिक केन्द्र (ईन्सेक)ले सार्वजनिक गरेको तथ्यांकले मानव अधिकार उल्लंघनका घटनामा कमि आउन नसकेको देखाएको हो ।

ad

तथ्यांक अनुसार जिल्लामा मानवअधिकार उलंघन तथा ज्यादतीका २० वटा घटना भएका छन् ।

सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखिकरण गरेका घटनाहरुको अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रममा जिल्लामा पछिल्लो ६ महिनामा २० वटा मानव अधिकार उलंघनका घटना भएको तथ्याक सार्वजनिक गरिएको हो ।

ती घटनामा पुरुष भन्दा महिला बढी पिडित भएको पाइएको छ । तथ्यांक सार्वजनिक गर्दै इन्सेकका जिल्ला प्रतिनिधि बुद्धिमान पुनले जिल्लामा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको बारेमा जानकारी गराएका थिए ।

उनले जिल्लामा सन् २०२४ जनवरी देखि हालसम्म २० ओटा घटनाहरु संकलन गरिएको र त्यसमा पनि राज्यपक्षबाट एक वटा र अन्यपक्षबाट १९ वटा घटना भएको बताए।

जसअनुसार कुटपिटका एक वटा, हत्याका तीन वटा, बालअधिकार तर्फ बलात्कारका २ वटा, महिलाअधिकार तर्फ घरेलु हिंसा १२ वटा र बहुविवाहका दुई वटा घटना रहेका छन् ।

ती घटनामा एक जना पुरुष र १९ जना महिना पिडित भएका छन् । जिल्लामा अन्य प्रकृतिका घटनामा कमी आएको देखिएपनि महिलाहिंसाका घटनामा भने सुधार आउन नसकेको जिल्ला प्रतिनिधि पुनले बताए ।


‘पछिल्लो छ महिनामा भएका मानवअधिकार उलंघन तथा ज्यादतीका घटनालाई हेर्दा पुरुष भन्दा महिला धेरै पिडित भएको पाइएको छ, त्यसमा पनि घरेलु हिंसाका घटना धेरै छन्’ उनले भने ‘विगतमा गरिएको बालविवाह अहिले घरेलु हिंसा हुदैँ अन्य घटनामा परिणत भएको पाइएको छ, यसको न्युनिकरणका लागि बालविवाह अन्त्य, मदिराजन्य बस्तुको बिक्रीवितरणमा बन्देज र सचेतीकरणका कार्य सञ्चालन आवश्यक छ, यसमा स्थानिय सरकार बढी जिम्मेवार देखिन्छ ।’

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मानवअधिकारको रक्षा र संरक्षणमा सबैपक्षको भूमिका महत्वपुर्ण हुने बताएका छन्। जिल्लामा महिला हिंसाका घटना धेरै देखिएको बताउदै उनले यसको मुख्य जड भनेकै बालविवाह भएको बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपि नवीन कार्कीले प्रहरीले मानवअधिकार हनन्का घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए।

मानवअधिकारको संरक्षण र सम्वद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको भन्दै उनले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएकाले मानवअधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको उल्लेख गरे।

जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जालका संयोजक मुना हमालको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी तथा पत्रकार लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="