बांके,२० असार । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले बर्दिया जिल्लाका वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढी स्थानीय नागरिकको क्षति बिमा गरेको छ ।
मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयसँगको समन्वयमा बर्दियाका ११ वटा सामुदायिक वन उपभोक्ता समूह मध्येबाट वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७सय ५६ जना स्थानीय नागरिकको क्षति बिमा गरिदिएको हो ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्काले बर्दियाका ११ वटा सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७सय ५६ स्थानीय नागरिकहरूको क्षति बिमाका लागि मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयसँग सम्झौता गरेको बताए ।
उनले आगामी आर्थिक वर्ष ०८१–८२ बाट यो बिमा लागु हुने जानकारी दिए।
उनका अनुसार वन्यजन्तुको आक्रमणमा परी हुनसक्ने सबै किसिमको क्षति बिमा गरिएको हो ।
त्यसैगरी कुनै नागरिकको मृत्यु भइहालेमा मन्त्रालयको तर्फबाट आठ लाख रुपियाँ र इन्स्योरेन्स कम्पनीको तर्फबाट दुई लाख रुपियाँ गरी दश लाख रुपियाँ मृतकको परिवारलाई उपलब्ध गराइनेसमेत भएको छ।
क्षति बिमाले वन्यजन्तुबाट घाइते नागरिकको उपचार खर्चमा राहत मात्र नभएर मानव वन्यजन्तुबिच समयसमयमा हुने द्वन्द्वलाई समेत न्यूनीकरण गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले र राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयका प्रमुख नवीन शर्मा पौडेलबिच आगामी आर्थिक वर्षबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको खड्काले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस