after_navbar

सिमलताल पहिरो : १३ जनाको शव फेला, पाँचको पहिचान हुन बांकी (विवरण सहित)


असार ३२, २०८१


बेपत्ता यात्रु र बसको खोजी गरिँदै । तस्बिर : सशस्त्र प्रहरी

ad

काठमाडौँ, ३१ असार ।  सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । तर हराइरहेका बस अझै फेला परेको छैन ।

भेटिएका शवमध्ये नौ वटा शवको सनाखत भएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । साथै चार पुरुष र एक महिला गरी पाँच वटा शवको पहिचान हुन बाँकी रहेको छ ।

हराइरहेका अन्य यात्रु तथा दुवै बसको खोजी कार्य सोमबार पनि जारी रहेको उनले जानकारी दिए ।

काठमाडौँबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँतर्फ जांदै गरेका दुई बस शुक्रबार बिहान पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेको थियो ।

वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जलस डिलक्स बसमा भएको यात्रु सङ्ख्या चलानमा भए बमोजिम २७ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा ११ गरी ३८ जना यात्रु सवार थिए ।

त्यस्तै काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा चलानमा भए बमोजिम २४ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा तीन गरी २७ जना यात्रु सवार थिए ।

दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको अद्यावधिक विवरण रहेको सह प्रवक्ता थापाले जानकारी दिए ।

सडकबाट नदीमा खस्दै गर्दा काठमाडौँबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="