दाङ,३१ साउन । राप्ती बहिरा संघ दाङको २५ औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बहिरा संघ दाङका जिल्ला अध्यक्ष अजय कुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले राज्यले आफ्नो पहिलो दायित्व पुरा गर्न नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए ।
समाजमा थुप्रै समस्याहरु छन् । ती समस्याहरु मध्ये अपांगता भएका व्यक्तिहरुको समस्या पहिचान र त्यसको संवोधन गर्नु राज्यको पहिलो जिम्मेवारी हो । तर अपांगता भएका व्यक्तिहरुले अँझैपनि राज्यका निकायलाई आफ्ना समस्या बताइरहनुले राज्य आफ्नो दायित्व पुरा गर्नबाट पछि रहेको प्रमाणित हुने उनीहरुको भनाई थियो । उनीहरुले अपांगता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका थिए।
कार्यक्रममा तुलसीपुर उपमहानगपालिकाका नगरप्रमुख टिकाराम खड्काले स्थानीय सरकारले अपांगता भएका व्यक्तिहरुको हकहितमा रहेर काम गर्दै आएको बताएका छन् । कुनैपनि व्यक्तिले नजिकबाट महुशस गर्नसक्ने गरी स्थानीय सरकारका गतिविधिहरुलाई अगाडी बढाउँदै आएको र त्यसलाई थप अपांगमैत्री बनाउदै लैजाने प्रत्यन्तमा आफु रहेको उनको भनाई थियो । पालिकाभित्रका अपांगता भएका व्यक्तिहरुको समस्या पहिचान, गुनासो सुनुवाई र माग संवोधनका विषयमा विगत देखिनै स्थानीय सरकार संवेदनशिल हुँदै आएको उनले बताए ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पालिकाभित्र रहेका अपांगताहरुको सवलीकरण र जीवनस्तर सुधारका लागि बजेट विनीयोजन गरि कार्यक्रमहरु गर्दै आएको बताए । अपांगताको क्षेत्रमा काम गर्ने संस्थाहरुसंगको समन्वयमा सहयोग सामग्री, सिपमुलक तालिम, आयआजर्नका कामहरु सञ्चालन गर्दै आएको र यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिने उनले बताएका थिए ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपांगता भएका व्यक्तिहरुको हकहित र अधिकार सुनिश्चितताका लागि निरन्तर कामहरु गर्दै आएको बताएकी थिइन् । उनले पालिकाबाट उपलव्ध सेवासुविधालाई अपांगमैत्री बनाउने प्रत्यत्नमा आफूहरु रहँदै आएको बताइन् । अपांगता भएका व्यक्तिहरुको समस्या पहिचान र समाधानमा वकालत गर्ने, सवलीकरणमा पैरवी गर्नुका साथै पालिकाभित्र रहेका ३ हजार ३२ जना अपांगता भएकाहरुको हितमा काम गर्दै आएको उनले बताएकी थिइन् ।
तुलसीपुर उद्योग वाणिज्यसंघका महासचिव केशवराज केसीले अपांगताको सवालमा व्यवसायीहरु सँधै सकारात्मक रहेको बताए । उद्योग वाणिज्यसंघले विगत लामो समय देखि अपांगता भएका १ जना छात्र १ जना छात्रालाई छात्रवृत्ति समेत दिँदै आएको जानकारी गराए । यसका लागि उद्योग वाणिज्यसंघले १ लाख ११ हजार १ सय ११ बराबरको अक्षयकोष समेत स्थापना गरेको छ । संघको स्थापना दिवस तथा साधारसभामा उक्त अक्षयकोष मार्फत छात्रछात्रालाई छात्रवृत्ति दिँदै आएको उनले बताए । यसका साथै उद्योग वाणिज्यसंघ नवनिर्वाचित अध्यक्ष विनिल केसीले अध्यक्षको तर्फबाट १ लाख १ हजार १ सय ११ अक्षयकोष स्थापना गर्ने घोषणा गरेको उनले जानकारी गराएका थिए।
नेपाल पत्रकार महासंघ दाङ सहसचिव दिप्तीशिखा चौधरी,दलित सेवा संघ दाङका सचिव सन्तोष चनारा, दलित नागरिक समाज दाङका अध्यक्ष छवि परियार,सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज विश्वकर्मा, मावि अश्वाराका प्रधानाध्यापक शिवप्रसाद लामिछाने, नगरस्तरीय अपांगता सञ्जाल उपाध्यक्ष तिलसरा पुन लगायतले नागरिकका स–साना समस्याहरु समेत राज्यले समाधान गर्न नसक्नु दुखको विषय भएको बताएका थिए । विकासका कामहरु राज्यले गरिरहेको भएपनि सामाजिक मुद्धाहरुमा अँझै ध्यान जान नसकेको भन्दै यसप्रति गम्भीर बन्न आग्रह समेत गरे । समतामुलक समाज नबन्दा सम्म मुलुकको सम्वृद्धि नहुने भन्दै समतामुलक विकासमा ध्यान दिन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग, डेक नेपाल बाँकेको प्राविधिक सहयोग दंगीशरण गाउँपालिका स्तरीय अपांगता सञ्जालको समन्वय र राप्ती बहिरासंघको आयोजनामा अपांगता भएका व्यक्तिहरुका लागि सहयोग सामग्री वितरण गरिएको थियो ।
राप्ती बहिरा संघकी उपाध्यक्ष रुपा बिकले स्वागत गरेको कार्यक्रममा राप्ती बहिरा संघकी कार्यकारी निर्देशक प्रतिमा शर्माले संस्था स्थापनाको उदेश्य तथा आगामी कार्ययोजनाको बारेमा जानकारी गराएकी थिइन् । संस्थाले अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सुधारका निमित्त गर्दै आएको कार्यक्रम तथा सांगठनिक प्रगतिविवरणका बारेमा समेत जानकारी गराएकी थिइन् ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव डम्बर डाँगी र राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगीले गरेका थिए भने दोभाषेको रुपमा स्मृति योगी रहेकी थिइन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस