after_navbar

छुट्टाछुट्टै दुर्घटनामा परि घाइते दुईजनाको मृत्यु


भदौ १७, २०८१


काभ्रेपलाञ्चोक,१७ भदौ। छुट्टाछुट्टै दुर्घटनामा परी घाइते भएका दुईजनाको मृत्यु भएको छ। आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको हो। करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

ad

काभ्रेको पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बनेपा–पनौती सडकखण्डअन्तर्गत पनौती नपा–५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलत्रात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश३–०२–०१३प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेपछि उनको उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जनाइएको छ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा–७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका थिए। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="