काठमाडौं,२४ भदौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकलाई सरकारले अन्तिम रुप दिने तयारी थालेको छ।
विधेयकलाइ अन्तिम रुप दिन गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माण तयारी तिव्र बनाएका छन् ।
उनले आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरे ।
त्यसपछि गृहमन्त्री लेखकले साँझ त्यससम्बन्धी ब्रिफिङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेका थिए ।
दुवै प्रहरीको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित आइतबार साँझ छलफल भएको थियो ।
बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानून निर्माण गर्ने विधेयकमा सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताए ।
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ। प्रहरीको विधेयक दुई साताअघि नै पठाइएको थियो । सशस्त्र प्रहरीको पनि बिहीबार पठाइएको छ।
गृहमन्त्री लेखकले मन्त्री भएको सय दिनभित्र प्रहरी ऐनलाई संसद्मा लैजाने लक्ष्य राखेका छन् । अर्थबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने र मन्त्रिपरिषद्मा लैजाने गृहमन्त्री लेखकले तयारी गरेका छन्
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस