दाङ २५ भदौ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकै एक महिलालाई अपहरण र बेपत्ता पारेको आरोप लागेका वनमन्त्रीले राजीनामा दिएका हुन् ।
मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बांके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघर मण्डल–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन गरेका थिए । यस्तै नेपाल कम्युनिष्ट पार्टी (वहुमत)ले समेत मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउंदै मन्त्री कुर्मीलाई कारवाही गर्न माग गरेको थियो ।
कुर्मी साउन ९ गते मन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिले कांग्रेसभित्रै असन्तुष्ट पैदा भएको थियो । कुर्मीलाई मन्त्रीका लागी दलका नेता डिल्लीबहादुर चौधरीले सिफारिस गरेका थिए । कांग्रेस लुम्बिनी प्रदेश समितिले भने सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र दिएर कुर्मीलाई मन्त्री बनाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो। राजीनामा दिन दवाव र आलोचना बढेपछि मुख्यमन्त्री आचार्यले राजीनामा दिन उपयुक्त हुने सन्देश मन्त्री कुर्मीलाई दिएका थिए ।
आज मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच कुर्मीको राजीनामाबारे छलफल भएको थियो । छलफलपछि चौधरीले पनि राजीनामा दिन उपयुक्त हुने सुझाव दिएका स्रोतको भनाई छ । सुझाव लगतै कुर्मीले मुख्यमन्त्री आचार्यलाई राजीनामा बुझाएको स्रोत जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस