after_navbar

सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न


फागुन ०३, २०८१


दाङ,३ फागुन । सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय संचालक समितीका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले शिक्षा मात्र नभई संस्कार, भाषा र अनुशासन सिकाउन जरुरी रहेको उल्लेख गरे। अभिभावक बालबालिकाको पहिलो शिक्षक भएको बताउदै परिवारबाटै असल संस्कारको बिकास गराउन आग्रह गरे। पछिल्लो समय बालबालिकाहरू मोबाइलको लतमा फस्दै गएको र यसले मानसिक समस्या निम्त्याउन सक्ने भन्दै यसप्रति अभिभावक सचेत हुनुपर्ने बताए।

“घर भनेको संस्कार, अनुशासन र जिम्मेवारी सिकाउने थलो पनि हो। अनि अभिभावक पहिलो शिक्षक हुन्, जसले आफ्नो सन्तानलाई सही मार्गदर्शन दिनुपर्छ। उनले भने-“मोबाइलको दुरुपयोगले बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ, जसमा अभिभावकले विशेष ध्यान दिनुपर्छ।”

उनले बालबालिकालाई उत्पादनशील बनाउन विद्यालय शिक्षालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए। विद्यालयहरुले प्राविधिक शिक्षामा ध्यान नदिदा विश्व बजारमा नेपाली युवाहरुले श्रम बेच्न बाध्य भएको बताउदै नेपालको माटोमै घुलमिल हुन सक्नेखालको शिक्षा अहिलेको आवश्यकता रहेको औल्याए।

“हाम्रो शिक्षा प्रणाली यस्तो हुनुपर्छ, जसले विद्यार्थीलाई नेपालमै अवसर दिलाओस्। प्राविधिक तथा व्यवसायिक शिक्षा दिन नसक्दा हाम्रा जनशक्ति विदेश भौतारिन बाध्य छन् । उनले भने-“हामी विदेशीएको प्रतिफलमा मख्ख छौं ,तर यसले परिवार अलग्याएको छ, राष्ट्रियता हराएको छ, संस्कार संस्कृति हराएको छ,खोइ हामी संवेदनशील बनेको ?”

विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल छविकुमार ओलीले विद्यार्थीहरूको इच्छा चाहना र आवश्यकता अनुसार पठनपाठनका क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताए।

विद्यार्थीहरूलाई उत्पादनशील बनाउनका लागि विभिन्न उपायहरु अवलम्बन गर्दै अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको जानकारी दिए। विद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिँदै विद्यार्थीहरूलाई आयआर्जनमुखी बनाउन विभिन्न शिपयुक्त कक्षाहरू समेत सञ्चालन गर्दै आएको उनको भनाइ थियो।

यस्तै उनले विद्यालयको भाव योजनाबारे प्रष्ट पारेका थिए। विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले निकट भविष्यमै प्लस टु, मन्टेश्वरी शिक्षा र आधुनिक पुस्तकालय सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए।

प्रधानाध्यापक वलीका अनुसार विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिंदै आएको छ। विद्यार्थीहरूले विभिन्न समयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा सहभागी भई विभिन्न वस्तु उत्पादन गरी ती उत्पादित वस्तुलाई बिक्री वितरण गरेर आर्थिक लाभ समेत उठाएका छन्। यस्ता खाले प्रयोगात्मक शिक्षालाई विद्यालयले निरन्तर आयोजना गर्दै आएको प्रिन्सिपल ओलीको भनाइ थियो ।

विद्यालयको मुख्य ध्यय संस्कारसहितको शिक्षा रहेको भन्दै राष्ट्रियता झल्कने कला संस्कृति र परम्परालाई विद्यालयका हरेक क्रियाकलापमा अवलम्बन गर्दै आएको उनले जानकारी गराए। विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न पक्षहरुसँग छलफल गर्दै अगाडि बढिरहेको समेत जानकारी दिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा समेत व्यक्त गरे। शैक्षिक गतिविधि मात्र नभई विद्यार्थीहरूको इच्छा चाहना दक्षता र क्षमता अनुसार विभिन्न अतिरिक्त कक्षाहरू समेत सञ्चालन गरी बालबालिकाको चौतर्फी विकासमा विद्यालयले सञ्चालन गर्ने गतिविधिहरू प्रशंसनीय भएको उनीहरूको भनाइ थियो।

वार्षिकोत्सव कार्यक्रममा विभिन्न साँस्कृतिक तथा शिक्षामूलक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मजगैयाले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न समुदायका कला संस्कृति झल्कने गायन तथा नृत्य एवं नाटक प्रस्तुत गरेका थिए। यसैगरी विभिन्न सिर्जनात्मक कला प्रदर्शनी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="