काठमाडौं, २१ फागुन। भारतबाट चाँदी तस्करी गर्दै काठमाडौं ल्याउने गिरोह पक्राउ परेपछि यो अवैध धन्दाको पर्दाफास भएको छ। काठमाडौं अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेपछि तस्करीको शैली, संलग्न व्यक्तिहरू र कारोबारको तरिका बाहिर आएको हो। अनुसन्धानका क्रममा तस्करहरूले मोटरसाइकलको ट्यांकीमा फल्स बटम बनाएर चाँदी लुकाउने गरेको खुलेको छ।
तस्करहरू पहिले भारतबाट चाँदी लुकाएर वीरगञ्ज ल्याउँथे। त्यहाँबाट मोटरसाइकलमा काठमाडौंको नरेफाँट पुर्याइन्थ्यो। चाँदीलाई धुलो जस्तो मसिनो बनाएर ल्याइन्थ्यो ताकि सजिलै लुकाउन सकियोस्।
यसरी काठमाडौं आइपुगेको चाँदी नरेफाँटमा भण्डारण गरिन्थ्यो। त्यसपछि विभिन्न सुनचाँदी पसलहरूमा बिक्री गरिन्थ्यो।
यस गिरोहका मुख्य नाइके बाराका सन्तोषकुमार साह रहेको खुलेको छ। पहिले कलैयामा सुनचाँदीको पसल चलाएका सन्तोषले ऋण तिर्न नसकेपछि पसल बेचेर दुबई गएका थिए। ११ महिना दुबई बसेर फर्केपछि उनले चितवनमा होटल सञ्चालन गरे। होटल पनि बिक्री गरेपछि उनी चाँदी तस्करीमा लागेको अनुसन्धानबाट खुलेको छ।
तस्करीका लागि उनले प्रेमकुमार कुशवाह र गणेश साहलाई भरिया बनाएर प्रयोग गर्थे। वीरगञ्जबाट चाँदी लिएर काठमाडौं ल्याए बापत यी भरियाहरूले ८ देखि १० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गर्थे।
तस्करीको प्रक्रिया निकै योजनाबद्ध थियो। भारतबाट चाँदी नेपाल भित्र्याउने काम भारतीय नागरिकहरूकै सहयोगमा हुने गर्थ्यो। भारतीयहरूले चाँदीलाई सीमा पार गराइ वीरगञ्ज ल्याइदिन्थे।
त्यसपछि सन्तोषका भरियाहरूले मोटरसाइकलमा लुकाएर काठमाडौं पुर्याउँथे। मोटरसाइकलको इन्धन ट्यांकीमा फल्स बटम बनाएर चाँदी लुकाउने, धुलोजस्तो मसिनो दानामा परिणत गरी सजिलै ओसारपसार गर्ने र काठमाडौं ल्याएपछि नरेफाँटमा भण्डारण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
सन्तोषको यो धन्दामा उनकी प्रेमिका विपना सार्की पनि संलग्न थिइन्। ब्युटिपार्लर सिक्दै गरेकी विपनाले प्रेमी सन्तोषलाई चाँदी बेच्न सहयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ। पक्राउ परेका अन्य व्यक्ति दिनानाथ साह सुनार भने चाँदीको सप्लाइमा संलग्न रहेको खुलेको छ। उनी काठमाडौं ल्याइपुर्याइएको चाँदी सन्तोषले भनेका स्थानमा पठाउने काम गर्थे।
यो गिरोह महिनामा कम्तीमा तीन पटक चाँदी तस्करी गर्ने गर्थ्यो। एक पटकमा १५ देखि २० किलो चाँदी ल्याइन्थ्यो। प्रहरीले यो गिरोहलाई पक्राउ गरेपछि उनीहरूबाट चाँदी तौलने तराजु, पैसा गन्ने मेसिन र तस्करीमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ। अब उनीहरूलाई राजस्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको छ र कानुनी प्रक्रिया अघि बढाइनेछ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस