काठमाडौं,२२ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका अधिकांश भागमा मौसम सफा भए पनि तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो पहाडी क्षेत्रको मौसम आंशिक बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहनेछ। यस्तै, राति पनि पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। साथै, शुक्रबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक असर पर्ने चेतावनी दिइएको छ।
महाशाखाले सम्बन्धित निकाय र नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस