दाङ, २२फागुन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सहित ९२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले ३९ जना नयाँ उपसचिवको पदस्थापन र ५३ जना कार्यरत उपसचिवको सरुवा गरेको हो।
सोही क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीको अछामको मङ्गलसेन नगरपालिकामा सरुवा भएको छ। गत वर्ष चैतमा तुलसीपुर आएका डाँगी पछिल्लो समय एकपछि अर्को विवादमा तानिँदै आएका थिए। कार्यपालिकाको बैठकमा एजेन्डाबाहिरका विषय राखेर निर्णय गराउने, जनप्रतिनिधि तथा कर्मचारीहरूसँग समन्वय नगर्ने जस्ता कारणले उनको कार्यशैलीप्रति व्यापक असन्तुष्टि थियो।
तुलसीपुर उपमहानगरपालिकाका मेयरका स्वकीय सचिव तथा प्रेस संयोजक हटाइएको निर्णयबारे समेत आफूहरूलाई जानकारी नदिएको एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले बताएका छन्। उनले डाँगीको एकलौटी शैलीका कारण पालिका विवादित बनेको आरोप लगाए।
डाँगीको सरुवा भएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव केशवराज पार्धेलाई पठाएको छ। निजामती सेवामा शालिन र भद्र स्वभावका अधिकृतका रूपमा चिनिने पार्धेेलाई तुलसीपुरमा समन्वयात्मक र सौहार्दपूर्ण प्रशासनिक वातावरण बनाउने जिम्मेवारी दिइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस