कास्की,२२ फागुन । बेपत्ता भएको पाँच दिनपछि महेश सुवेदी मृत फेला परेका छन्। तनहुँको भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता भएका ३६ वर्षीय सुवेदी पाँच दिनपछि मृत फेला परेका हुन् ।
फागुन १७ गते बिहान घरबाट बेपत्ता भएका सुवेदीको खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए। तनहुँको भीमादसहित स्याङ्जा क्षेत्रमा व्यापक खोजी भए पनि उनी फागुन २२ गते भीमाद वडा नम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत अवस्थामा भेटिए।
राति परिवारसँग सुतेका सुवेदी बिहान बेपत्ता भएपछि परिवारले खोजी थालेका थिए। खोजीका क्रममा बिहान सवा ५ बजे उनले परिवारसँग सम्पर्क गरेका थिए। त्यतिबेला उनले आफू कहाँ छु भन्ने थाहा नभएको बताएका थिए। त्यसपछि उनको मोबाइल अफ भएको थियो।
उनको शव फेला परेपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसी नेतृत्वको प्रहरी टोली पुगेको थियो। सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा पठाइएको छ।
पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
महेश हाल कावासोती नगरपालिका वडा नम्बर ३, मध्यविन्दु टोलमा बस्दै आएका थिए। भतिजहरूको व्रतबन्धका लागि उनी धरमपानी गएका थिए।
उनकी श्रीमती स्वास्थ्यकर्मी हुन्, जो सानी छोरीसहित लमजुङमा बस्दै आएकी छन्, भने सुवेदी ठूली छोरीसहित कावासोतीमा बस्दै आएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस