आदिम के.सी,८ जेठ । नेपाली सिने क्षेत्रमा विभिन्न धारका सिनेमा बन्ने क्रम जारी नै छ । सिनेमाका अलावा सामाजिक सचेतना, जागरण र समृद्धिलाई आधार बनाएर वृत्तचित्र बन्ने क्रमले पनि बाक्लो रूप लिँदै आएका छन् ।
पछिल्लो समयमा विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावक केन्द्रित रहेर वृत्तचित्र निर्माण भइरहेका छन् । सामाजिक सचेतना तथा जागरणका लागि यस्ता वृत्तचित्रले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
पछिल्लो समयमा बनेको वृत्तचित्र हो ‘जुनकीरी’ । एक बालिकाका सफलताको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘जुनकीरी’ मा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक कथा रहेको छ । ‘थिम बेस’ मा आधारित रहेर निर्माण गरिएको ‘जुनकीरी’ मा आजका बालबालिकालाई कसरी भविष्यका लागि जिम्मेवार, कर्तव्यनिष्ठ, इमानदार तथा समाजप्रति बफादार बनाउन सकिन्छ भन्ने सन्देश पाइन्छ ।
त्यसो त बालबालिकाका चाहना तथा अन्तरनिहित प्रतिभालाई नबुझी उनीहरूलाई अभिभावक तथा शिक्षकले आफू अनुकुल मार्ग निर्देशन गर्दा निम्तिने सम्भाव्य दुर्घटनाप्रति पनि ‘जुनकीरी’ सचेत रहेको छ ।
बालबालिकाको रुचिलाई बुझेर उनीहरूको भविष्यको मार्ग निर्देशन गर्न आवश्यक रहेको सन्देश पनि ‘जुनकीरी’ ले सम्प्रेषण गरेको छ ।बालबालिकामा जङ्क फुडको लत कसरी निर्मूलीकरण गर्ने, बालहिंसाप्रति उनीहरूलाई कसरी सचेत गराउने, बालश्रमप्रतिको सचेतना, सामाजिक उत्तरदायित्व बहनलगायतका थिममा निर्माण गरिएको ‘जुनकीरी’ले शिक्षक अभिभावक तथा विद्यार्थीलाई आफूले गरेका कार्यको सकारात्मक र नकारात्मक पक्षमा समेत आत्मसमीक्षा गराउन सफल रहेको छ ।
‘बालबालिकालाई सामाजिक उत्तरदायित्व बोध गराउनका साथै उनीहरूमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउन आवश्यकताको बोध गरेर यो वृत्तचित्र निर्माण गरेका हौँ ।’ प्रोड्युसर बिना पोख्रेलले बताइन् ।
बालबालिकालाई कसरी एक सफल व्यक्ति बनाउन र सफल जीवन प्रदान गर्न सकिन्छ भन्ने विषयमा अभिभावक, शिक्षक र समाज सचेत रहन आवश्यक रहेको पाख्रेलको भनाइ छ । ‘हामीले जुनकीरी थिम बेसमा निर्माण गरेका छौँ । बालबालिकाको सर्वाङ्गीण विकासलाई आधार मानेर थिम क्रेट गरेका छौँ । त्यही अनुरुपको कथा रहेको छ ।
आजका बालबालिकालाई हामीले दिने शिक्षा नै भोलिको समाजको आधार हो भन्ने भावलाई मनन गर्न सकियो भने सामाजिक समृद्धि धेरै टाढा छैन । त्यसका लागि विद्यालय, शिक्षक र अभिभावकको जिम्मेवारी कति रहन्छ भन्नेमा पनि हामी सचेत रहेका छौँ । बालबालिका दिइने शिक्षा, संस्कारले उसको गन्तव्य पनि निर्धारण गर्दछ ।
बालबालिकालाई समाजप्रति उत्तरदायित्व बनाउँदै लैजान सकियो भने बालबालिकामा देखिने समस्या पनि न्यूनीकरण हुँदै जान्छन् र बालबालिकामा सकारात्मक सोंचको विकास गर्न सकिन्छ ।’ पोख्रेलले बताइन् ।
वृत्तचित्र ‘जुनकीरी’ लेखन तथा निर्देशन दिनेशराज शर्माको रहेको छ भने निर्माण फाल्गुणप्रसाद पौडेल र बिना पोख्रेल रहेका छन् । वृत्तचित्रमा अभिनय गर्ने कलाकारहरू पनि रियल भूमिकामा रहेका छन् ।
जस्तो कि शिक्षकको भूमिकामा शिक्षक, विद्यार्थीको भूमिकामा विद्यार्थी, गायक/गायिकाको भूमिकाकामा गायक/गायिका तथा फरक क्षमताको भूमिकामा फरक क्षमता भएका पात्र चयनले गरिएको छ । पात्र चयनले वृत्तचित्रलाई झनै जीवन्त बनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस