दाङ। लुम्बिनीमा निजी तथा कार्यक्रम पारित भएको छ। सरकाले लुम्बिनी प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमत सदस्यका आधारमा पारित गरिएको हो। लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम सभाले बहुमतले पारित गरेको छ । छैठौं अधिवेशनको आठौं बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक वर्ष २०८२/०८३को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम ध्वनिमतको आधारमा पारित भएको घोषणा गरेका हुन । शुक्रबार देखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु गरिएको थियो । प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका छन ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । शनिबार बसेको छैठौं अधिवेशनको आठौं बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनको लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी दिए ।
‘रचनात्मक सुझाव प्राप्त भएको छ । छलफलमा सहभागी हुने सबै माननीयज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा कार्यक्रमिक ढंगले अघि बढाउन सकिने सुझावलाई सरकारको तर्फबाट, विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने कोशिस गर्नेछौं,’ मुख्यमन्त्री आचार्यले भने , ‘नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम हो । आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याइनेछ ।’
उनले यसपटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधन स्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिए ।
सरकारले वस्तुनिष्ठ र कार्यान्वयन योग्य बजेट बनाउने तयारी गरिरहेको पनि मुख्यमन्त्री आचार्यले स्पष्ट पारे। दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेश सभा सदस्यले सुझावसहित धारणा राखेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस