दाङ, ११ जेठ। देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। साथै, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।
आज दिउँसो कोसी, मधेस, बागमती, सुदूरपश्चिम प्रदेश र देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बाँकी क्षेत्रमा एक–दुई स्थानमा यस्तै प्रकारको वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले सातै प्रदेशका केही स्थानमा चट्याङसहितको वर्षा सम्भावित रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस