काठमाडौँ,१२ फागुन। नेपाल–भारत सीमावर्ती बजार कृष्णनगर सोमबार भन्द भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघको आह्वानमा कृष्णनगर बजार बन्द भएको हो । सशस्त्र प्रहरीले कृष्णनगर आसपासका सर्वसाधारण, साना व्यवसायी र व्यापारीलाई अनावश्यक दुःख दिएर ज्यादती गरेको आरोप लगाउँदै सोमबार बजार बन्द गरेको संघका अध्यक्ष रितेश शर्माले बताए ।
बजार पूर्ण रुपमा बन्द छ । निजी र भाडाका सवारी चलेका छैन । बजार बन्द हुँदा सीमावर्ती बजार कृष्णनगर सुनसान छ ।
केही दिनदेखि कृषकले मलखाद, बिहेबारीका सामान र खुद्रे व्यवसायीले मालसामान ल्याउँदा सशस्त्र प्रहरीले जाँचका बहानामा पक्राउ गर्दै भन्सार बुझाएर अनावश्यक कष्ट दिँदै आएकाले बाध्य भएर विरोधमा उत्रनुपरेको अध्यक्ष शर्माले बताए ।
सशस्त्र प्रहरीको कार्यशैलीको विरोधमा व्यवसायीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको जनता समाजवादी पार्टी कृष्णनगर नगर कमिटीका अध्यक्ष जगदीश चौधरीले बताए ।
गत जेठ ९ गते बहादुरगंजमा तस्करीको आशंकामा ३२ बोरा युरिया मल सशस्त्र प्रहरीले बरामद गरेपछि अहिले विरोध भइरहेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र उपरीक्षक नेत्र केसीले बताए । उक्त युरिया मल सशस्त्रकै गाडीबाट स्थानीयले झिकेर बाटोमा छरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस