काठमाडौँ, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ समूह) बीच पार्टी एकता भएको छ।
सोमबार आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेसपा समूहका नेता गंगानारायण श्रेष्ठले एकता तथा समायोजन सम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन्।
एकता घोषणासभामा माओवादी महासचिव देव गुरुङले दुवै पक्षबीच पाँच बुँदे सहमति भएको जानकारी दिए। सहमतिअनुसार एकीकृत पार्टीमा गंगानारायण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको छ।
श्रेष्ठ झण्डै एक दशकअघि डा। बाबुराम भट्टराईसँगै तत्कालीन माओवादी पार्टी त्यागेर नयाँ शक्ति नेपालमा प्रवेश गरेका थिए। त्यसपछि संघीय समाजवादी फोरम, जनता समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीसम्म पुगेका श्रेष्ठसहित १७ जना केन्द्रीय कार्यकारिणी सदस्य र करिब १०० जना केन्द्रीय सदस्य पुनः माओवादी केन्द्रमा फर्किएका हुन्।
२०७२ सालमा माओवादी पार्टी त्यागेका डा। भट्टराई नेतृत्वको समूहले २०८० चैत ३ गते माओवादी केन्द्रसँग एकता गर्ने तीन बुँदे सहमति गरेको थियो।
तर अध्यक्ष महिन्द्र राय यादवको रुचि नदेखिएपछि गंगानारायण श्रेष्ठ नेतृत्वको समूह मात्र माओवादीमा समाहित भएको हो। संसदमा भने यादव माओवादी सांसदकै रूपमा चिनिन्छन्, किनभने उनले माओवादीको चुनाव चिन्हबाटै निर्वाचन जितेका थिए। यसैबीच, माओवादी केन्द्रले विजय सैजु नेतृत्वको नेवा राष्ट्रिय पार्टीसँग पनि आजै पार्टी एकता गर्ने तयारी गरेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस