काठमाडौं ,१३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ‘भिजिट भिसा’को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृह प्रशासन मुछिएपछि प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका छन्।
मंगलबारको बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी सहितका सांसदहरू उठेर गृहमन्त्रीको नैतिक जिम्मेवारी उठाउँदै राजीनामाको मागमा विरोध जनाए। उनीहरूले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठिसकेको भन्दै पदबाट अलग भएर छानबिनको मार्ग खुला गर्नुपर्ने बताए।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म निष्पक्ष छानबिन सम्भव नभएको बताए। “गम्भीर प्रश्न उठिसकेको अवस्थामा गृहमन्त्रीले छानबिन सहज हुने गरी मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ,” पुनले भने।
रास्वपाका सांसद शिशिर खनालले समेत गृहमन्त्री पदमै रहेमा निष्पक्ष अनुसन्धानमा प्रश्न उठ्ने भन्दै तत्काल राजीनामाको माग गरे। उनले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा पनि जोड दिए।
प्रतिक्रिया स्वरूप सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बसेको थियो। बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको थियो। तर, प्रतिपक्षी दलहरू अध्यागमनका कर्मचारीहरूको सेटिङमार्फत रकम असुलीमा गृहमन्त्रीको संलग्नता हुनसक्ने दाबी गर्दै आएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस