after_navbar

नवनियुक्त अध्यक्षको पदभारः अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न कठिनाइ रहेको गुनासो


जेठ १४, २०८२


दाङ, १३ जेठ । राप्ती प्रादेशिक अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थापनमा पटक–पटक छलफल र बहस भइरहँदा पनि आवश्यक सुधार अझै अपूर्ण छन्। वर्षौँदेखि उठाइएका सिटी स्क्यान र आइसियु जस्ता महत्वपूर्ण उपकरणको अभावले अस्पतालमा सेवा प्रवाह प्रभावित भइरहेको सरोकारवाला बताउँछन् ।

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सरकारको बार्षिक बजेट कार्यक्रममा अस्पतालका लागि आवश्यक बजेट नपुग्दा संरचनागत समस्या अझै सुल्झिन नसकेको गुनासो गर्ने गरेका छन् ।

मंगलबार अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष महेन्द्र लामिछानेको बधाइ तथा पदभार ग्रहणका अवसरमा बोल्ने वक्ताहरुले उपकरणको अभावले सेवा प्रवाहमा समस्या हुँदै आएको बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पदमराज अधिकारीले बजेट अभावका कारण योजना अनुरुप सेवा प्रवाह गर्न नसकिरहेको बताए । उनले सरकारले उपलव्ध गराउने बजेट अपर्याप्त रहेको भन्दै अस्पताललाई उपेक्षा नगर्न अनुरोध छ । अस्पतालमा सिटी स्क्यान र आइसियुको व्यवस्थापन हुन नसक्दा नागरिकलाई विशिष्ट सेवा दिन नसकिएको उनको भनाई थियो ।
“हाम्रो योजना अनुसार २०० शैयामा सेवा विस्तार गर्ने तयारी छ, तर बजेट अभावका कारण उपकरण व्यवस्थापन, सेवा विस्तार र प्रवाहमा समस्या आइरहेको छ।” उनले भने–‘ अस्पतालमा सिटी स्क्यान र आइसियुको अभावले बिरामीको उपचारमा ठूलो चुनौती थपिएको छ ।’
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले आवश्यक उपकरण नहुँदा नागरिकको ज्यान जोखिममा परेको बताए । “सिटी स्क्यान छैन, आइसियु छैन। यसले जनताको ज्यान जोखिममा पारेको छ।

‘आमाशिशु कार्यक्रम भए पनि सुरक्षित सुत्केरी सेवा दिन सकिँदैन।’उनले भने–‘अस्पतालमा दैनिक हजारौं बिरामी आउने गर्दछन्, तर चिकित्सक दरबन्दीको कमी र पुरानो संरचनाले सेवा प्रदान गर्न थप चुनौती थपेको छ। साथै, अस्पतालको जग्गा अतिक्रमण समस्या पनि अझै समाधान हुन सकेको छैन।’

अस्पतालको सेवालाई विशिष्टिकरण गर्दै लैजानका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । निवनियुक्त अध्यक्षलाई बधाइ दिँदै उनले नागरिकका स–साना गुनासोहरु संवोधन हुनेगरी अस्पतालको सेवा प्रवाह गर्न आग्रह गरे ।

स्थानीय सरकारको तर्फबाट अस्पताललाई आवश्यक सहयोग र व्यवस्थापन गर्न आफू तयार रहेको भन्दै प्रदेश सरकारको विशेष सक्रियता र चासोको आवश्यकता रहेको औँल्याए।


तुलसीपुर उद्योग वाणज्यसंघका अध्यक्ष विनील केसीले वर्षौदेखि अस्पतालको समस्या समाधान नहुँदा नागरिकहरुले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पाउन नसकेको बताएका थिए । स्वास्थ्य सेवामा सुधार नहुँदा विपन्न नागरिकहरु अझ बढि पीडामा रहेको उनको भनाई थियो ।

सामान्य उपचारका लागि पनि बाहिर जाने परिस्थिती बनेको भन्दै यसप्रति सबैले चासो दिने मात्र नभई सेवालाई गुणस्तरीय बनाउन प्रत्यन्तशील भएर लाग्नुपर्ने बताएका थिए । यसका लागि नीजि क्षेत्रले गर्नुपर्ने सहयोग र समन्वयकारी भूमिकामा आफूहरु सँधै प्रतिवद्ध रहेको बताए ।


अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले भने अस्पतालको व्यवस्थापन पक्षलाई बलियो बनाउनेगरी काम गर्ने बताएका छन् ।

अस्पतालको पूर्वाधार सुधार्न र सेवा विस्तार गर्ने विषयमा म विगतदेखि नै चासो र सरोकार राख्दै आएको हुँ, अब त्यसलाई पूरा गर्ने जिम्मेवारी पाएको हुनाले सेवा प्रवाह, संरचनागत सुधार र उपकरण व्यवस्थापन मेरो प्राथमिकतामा छ, उनले भने– नागरिकबाट आएका स–साना समस्या र गुनसोहरुलाई पनि समेटेर अस्पतालको सेवालाई प्रभावकारी बनाउने कुरामा म प्रतिवद्ध भएर लाग्ने छु ।’

अस्पतालमा दैनिक हजारौं बिरामी आउने गर्दछन्, तर चिकित्सकीय सुविधा र आवश्यक उपकरणको अभावले उपचारमा चुनौती थपिएको छ। सिटी स्क्यान र आइसियु नहुँदा गम्भीर बिरामीलाई तत्काल सेवा दिन नसकिने र महँगो शुल्क तिरेर अन्यत्रै जानुपर्ने नागरिकको बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="