पचरौता,१४ जेठ । भारतको रक्सौलबाट बालकको उपचार गराएर फर्किंदै गर्दा पचरौता नगरपालिका–१ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा पाँच महिनाको बालक, उनकी २० वर्षीया आमा र ५० वर्षीया हजुरआमाको ज्यान गएको हो।
मंगलबार राति भारतको छौडादानो क्षेत्रको बखरी गाउँ नजिक सडकमा निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा परेर बालक दिब्यांश साह, उनकी आमा रेश्मी देवी र हजुरआमा राजकुमारी देवीको घटनास्थलमै मृत्यु भएको पचरौता नगरपालिकाले जनाएको छ।
दुर्घटनाका बेला मोटरसाइकल चलाइरहेका २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन्। छोरा दिब्यांशको उपचारका लागि पत्नी र आमा सहित रक्सौल गएका धर्मराज फर्किने क्रममा दुर्घटनामा परेका थिए।
घाइते धर्मराजको हाल भारतको मोतिहारी अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा गम्भीर चोट लागेकाले थप उपचारका लागि आर्थिक संकट परेको परिवार स्रोतले जनाएको छ।
साह परिवारको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै विभिन्न सामाजिक संघ–संस्थाले सहयोग संकलन सुरु गरेका छन्। पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले घाइते धर्मराज साहको उपचारमा सहयोगस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस