काठमाडौं, १५ जेठ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने भएका छन्।
दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री पौडेलले बजेट पेस गर्ने कार्यक्रम तय गरिएको संसद् महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए। बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सांसदहरूलाई दिउँसो २:४५ बजेभित्र प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन अनुरोध गरेको छ।
बजेट पेस हुनु अघि दिउँसो १:३० बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। उक्त बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र वाचन गर्ने र अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
यसैगरी, राष्ट्रिय सभाको बैठक दिउँसो १:४५ बजे बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस