after_navbar

तुलसीपुर नगर जेसिजको हाजिरीजवाफ प्रतियोगिता: ज्ञान ज्योती मावि प्रथम


जेठ १७, २०८२


दाङ, १६ जेठ। तुलसीपुर नगर जेसिजको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगित सम्पन्न भएको छ। “Rise Together for Better Tomorrow” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक गरी १९ वटा विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगिता पाँच चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरण सेलेक्सन राउन्ड, दोस्रो जनरल राउन्ड, तेस्रो र्यापिड फायर राउन्ड, चौथो मल्टिमिडिया राउन्ड र पाँचौं चरण बजर राउन्ड का रूपमा प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा ज्ञानज्योति मावि तुलसीपुरले प्रथम स्थान हासिल गरेको छ। यसैगरी अमर मावि कालाखोला दोस्रो, हिमाल एकेडेमी तुलसीपुर तेस्रो तथा गोरखा मावि तुलसीपुर सान्त्वना स्थानमा रहन सफल भएका छन्। विजयी टिमहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो।

कार्यक्रम तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुसालको अध्यक्षता, नेसनल प्याब्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता तथा नेसनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि शर्माले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा किताबी ज्ञानसँगै व्यवहारिक सीप र आत्मविश्वास वृद्धि गर्न सहयोग गर्ने बताए ।

डिभाइन टेम्पल एकेडमीका प्रीन्सिपल न्यौपानेले स्वस्थ प्रतिस्पर्धाले अध्ययनमा रुचि र सक्रियता बढाउने विश्वास व्यक्त गरे।

तुलसीपुर नगर जेसिजका अध्यक्ष भुसालका अनुसार प्रतियोगिता “जेसिस ब्रान्डिङ अवेयरनेस प्रोग्राम” अन्तर्गत जेसिज गोल अनुसार आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

प्रतियोगिता डिभाइन टेम्पल एकेडेमी, तुलसीपुरमा सम्पन्न भएको हो। कार्यक्रम संयोजक जेसी सुरज केसी रहेका थिए। कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिजका महासचिव बुद्धि साप्कोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="