काठमाडौं,१६ जेठ । ज्यान मुद्दामा जन्मकैदको सजाय उल्टिएर बुधबारमात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना भएका छन्।
शुक्रबार बिहान मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका आलमलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार बिहान ७ बजे नै समस्या देखिएपछि साढे १० बजेदेखि उपचार थालिएको हो।
तर आलम अस्पतालमा समेत विवादास्पद व्यवहार देखाइरहेका छन्। अस्पताल स्रोतका अनुसार उनले उपचारमा खटिएका नर्सहरूलाई ‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ’ भन्दै गाली गर्दै, ‘कतिजना मारेँ, कसरी मारेँ’ भन्ने जस्ता अभिव्यक्ति दिइरहेका छन्।
‘उहाँको व्यवहार हेर्दा ब्रेन म्यापिङमा गम्भीर समस्या देखिन्छ,’ स्रोतले भन्यो।
उल्लेखनीय छ, २०६४ सालको संविधानसभा निर्वाचनको बेलामा रौतहटको राजपुरमा बम विस्फोटपछि घाइते भएका व्यक्तिहरूलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप आलमसहितको समूहमाथि लागेको थियो।
रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। तर बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले आलमसहित ४ जनालाई प्रमाण अभावको आधारमा सफाइ दिएको हो।
रिहा भएको दुई दिन नबित्दै अस्पताल भर्ना भएका आलमको मस्तिष्काघातको उपचार आईसीयूमा जारी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस