after_navbar

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु


जेठ २१, २०८२


मोरङ,२० जेठ ।प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका झापाका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको हो। झापा दमक नगरपालिका–१ निवासी २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको कोशी अस्पताल विराटनगरमा मंगलबार मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, श्रेष्ठलाई जेठ १५ गते म्याद थप गरी हिरासतमा राखिएको थियो। अनुसन्धानको क्रममा बारम्बार बिरामी परेपछि उनलाई यसअघि पनि उपचारका लागि अस्पताल लगिएको थियो। मंगलबार बिहान ९ बजे अचानक ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि कोशी अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको जोशीले जानकारी दिए।

प्रहरीका अनुसार, श्रेष्ठ विगतमा लागुऔषध सेवनमा संलग्न रहेका थिए र उनी लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्। डीएसपी जोशीका अनुसार, उनीमाथि यसअघि पनि चारपटक मुद्दा चलिसकेको छ । तीनपटक लागुऔषध ऐन अन्तर्गत र एकपटक अभद्र व्यवहार मुद्दामा मुद्दा  चलाइसकेको छ।

पछिल्लोपटक विराटनगरमा साइकल चोरी गर्न खोजेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको थियो। चोरीको प्रयासका क्रममा साइकलधनीसँग विवाद र हातपात भएपछि किटानी जाहेरी परेको र त्यसैका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

श्रेष्ठको शव अहिले कोशी अस्पतालमा राखिएको छ। उनका आफन्तलाई खबर गरिसकिएको र उनीहरू आएपछि आवश्यक थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="