दाङ २१ जेठ । दाङको तुलसीपुरदेखि सल्यानको कपुरकोट जोड्ने राप्ती लोकमार्गको सडकखण्ड जेठ २३ गतेदेखि असार १ गतेसम्म दिउँसो बन्द हुने भएको छ।
सडकको मर्मत तथा स्तरोन्नतिको काम चलिरहेकाले निर्माण कम्पनीको अनुरोधमा स्थानीय प्रशासनले सडक बन्द गर्न स्वीकृति दिएको हो। दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सार्वजनिक सूचना जारी गर्दै उक्त सडकखण्ड बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बन्द रहने जानकारी दिएका हुन्।
सडक बन्द हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग पैंयाखोरिया–सातबास–किमुचौर हुँदै कपुरकोट यात्रा गर्न सुझाव दिइएको छ।
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा दक्षिणतर्फको करिब ४ किलोमिटर सडक खण्डमा निर्माण कार्य भइरहेको छ। १३ करोड २३ लाख रुपैयाँमा आरडी, उज्वल, लोकमणि ज्वाइन्ट भेन्चरले जिम्मा लिएको निर्माण कार्यको सम्झौता २०८० माघ २८ गते भएको हो।
निर्माण कार्य आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यसअघि पनि निर्माण कार्यका कारण स्थानीय प्रशासनले यो सडकखण्डमा पटक–पटक यातायात बन्द गर्दै आएको थियो।
निर्माण कम्पनीका अनुसार सवारी साधन सञ्चालन हुँदा काममा अवरोध हुने भएकाले सडक बन्द गर्नुपर्ने अवस्था आएको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस