after_navbar

पाँच महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालय: विद्यार्थी–प्रशासनबीच ५ बुँदे सहमति


जेठ २४, २०८२


दाङ,२३ जेठ । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी (दाङ) मा विद्यार्थीहरूद्वारा गरिएको तालाबन्दी पाँच महिनापछि खुलाइएको छ। २०८१ साल पुस १२ गतेदेखि लगाइएको ताला विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच सफल वार्तापछि खुलाइएको हो।

तालाबन्दीका कारण विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए। नियमित पठनपाठन, परीक्षा सञ्चालन, क्याम्पसको प्रशासनिक प्रक्रिया र आर्थिक कारोबार सबै अवरुद्ध भएको अवस्थामा विश्वविद्यालयको समग्र वातावरण नै प्रभावित भएको थियो।

विद्यार्थीहरूले विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए। उनीहरूले पटक–पटक उठाएका मागहरू बेवास्ता भएको भन्दै तालाबन्दीसमेत गरेका थिए। विश्वविद्यालयमा यसअघि पनि यस्तै किसिमका आन्दोलन र तालाबन्दी भइरहँदा शैक्षिक वातावरणमा नकारात्मक असर परेको स्थानीय अभिभावक र विद्यार्थीहरूको गुनासो छ।

हाल विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच भएको छलफल सफल भएसँगै संयुक्तरूपमा पाँच बुँदे सहमति सार्वजनिक गरिएको छ। सहमति अनुसार केन्द्रीय आयुर्वेद विद्यायायसँग सम्बन्धित विद्यार्थीका मागहरूबारे अध्ययन गरी प्रतिवेदन तयार पारिनेछ र त्यसको आधारमा विश्वविद्यालयमा प्रस्ताव पेश गरिनेछ। साथै, नेपाल सरकारले छुट्याएको बजेटको प्रयोग गरी नयाँ व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

परीक्षा, उत्तरपुस्तिका व्यवस्थापन, तालिका लगायतका विषयमा देखिएको अव्यवस्था एक महिनाभित्र सुधार गरिने प्रतिबद्धता जनाइएको छ। यस्तै, विश्वविद्यालयमा उठेका आर्थिक अनियमितता छानबिन गरिने र दोषी पाइए कानुनी कारबाही गरिनेछ। तत्कालीन रूपमा गठन गरिएको वार्ता समिति र संयोजन समितिलाई कार्यान्वयनमा निरन्तरता दिने सहमति पनि भएको छ।

वार्ता समितिका संयोजक प्रा.डा. भीमप्रसाद खनालको नेतृत्वमा सम्पन्न वार्तामा विद्यार्थी पक्षबाट विभिन्न संघ–संगठनका प्रतिनिधि र विश्वविद्यालय प्रशासनका अधिकारीहरूको सहभागिता रहेको थियो। सहमतिपछि आन्दोलनरत विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा आन्दोलन स्थगन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="