after_navbar

तुलसीपुरमा पर्यटन पत्रकारिता तालिम सम्पन्न


जेठ २४, २०८२


दाङ,२३ जेठ ।  दाङको तुलसीपुरमा एकदिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखाको आयोजनामा तालिम सम्पन्न भएको  हो । तालिम  वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसीको अध्यक्षतामा तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले पर्यटन प्रवर्द्धनमार्फत स्थानीय समृद्धि र आर्थिक उन्नयन सम्भव रहेको बताए। टाढाबाट आउने अनुगमनकर्ता र जनप्रतिनिधिहरूलाई स्थानीय स्तरमा रहेका पर्यटकीय स्थल चिनाउने कार्य भइरहेको उनले बताए। अब हामीले पर्यटक भित्र्याउने सम्भाव्य स्रोतहरूको पहिचान तथा प्रचारप्रसारमा ध्यान दिन आवश्यक रहेको औँल्याए ।

‘प्रचार–प्रसारको अभावका कारण थुप्रै पर्यटकीय गन्तव्यहरू ओझेलमा परेका छन्। उनले भने–‘ तिनको अध्ययन, अनुगमन र खोजी गरी विकासको गति दिन जरुरी छ।

तालिममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपूल पोख्रेलले पर्यटन पूर्वाधार, प्राकृतिक तथा कृत्रिम पर्यटकीय स्थलहरू, तिनको सम्भावना र उपयोगिता, पर्यावरण संरक्षणमा पर्यटनको योगदान तथा समुदायमा पर्न सक्ने प्रभावबारेमा प्रशिक्षण दिएका थिए।

पोख्रेलले अनुसन्धानमूलक पत्रकारिता र तथ्यमा आधारित रिपोर्टिङले स्थानीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए। तालिममा सहभागीहरूले स्थानीय तहमा पत्रकारितामार्फत पर्यटन प्रवर्द्धन गर्ने रणनीतिबारे जानकारी हासिल गरेका थिए। तालिममा तुलसीपुर क्षेत्रका करीव २० बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको स्वागत राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले गरेका थिए भने सहजीकरण पर्यटन शाखाका प्रमुख झरेन्द्र खरेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="