दाङ,२५ जेठ । भारतको हैदराबादमा एक नेपाली युवतीको हत्या अभियोगमा उनका प्रेमी पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय नेपाली युवक विजय टोपा रहेका छन् । उनी ३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या अभियोगमा पक्राउ परेका हुन्।
दुवै जनाको चिनजान फेसबुकमार्फत भएको थियो। विवाहित र दुई सन्तानकी आमा बोहरा अप्रिलदेखि टोपासँग हैदराबादमा बस्न थालेकी थिइन्। बोहरा गर्भवती भएपछि टोपा गर्भपतन गराउन दबाब दिँदै आएका थिए। यही विषयमा दुवैबीच पटक–पटक झगडा हुने गरेको थियो।
भारतीय सञ्चारमाध्यम तेलंगाना टुडेका अनुसार मे २३ मा झगडापछि टोपाले नाइलनको डोरीले घाँटी कसेर बोहराको हत्या गरे। त्यसको भोलिपल्ट उनले कुकटपल्लीबाट ट्रली ब्याग किनेर शव त्यसमा राखे र बाचुपल्लीस्थित एक खाली स्थानमा फ्याँके।
घटनाको अनुसन्धान गर्न प्रहरीले पाँचवटा विशेष टोली खटाएको थियो। सीसीटीभी फुटेजका आधारमा ७० वटा ट्रली ब्याग पसलमा छानबिन भयो। एक फुटेजमा टोपाले ब्याग किन्दै गरेको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
टोपालाई बिहीबार पक्राउ गरी सोधपुछ गर्दा उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस