चितवन,२६ जेठ । राप्ती नगरपालिकाले एकैपटक ७४ जना कर्मचारीलाई हटाएको छ। आन्तरिक स्रोतको अभाव र अख्तियारको चासो देखाउँदै राप्ती नगरपालिकाले एकैपटक ७४ जना ज्यालादारी कर्मचारी हटाएको हो । नगर प्रमुखको संयोजकत्वमा गठित सहजीकरण समितिको निर्णयअनुसार सोमबार (जेठ २६)देखि निर्णय लागू गरिएको हो।
हटाइएका कर्मचारीमध्ये भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत रहेका छन्। आइतबार नगरपालिकाले आकस्मिक सूचना प्रकाशित गर्दै सोमबारदेखि सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको हो।
नगरपालिकाको पशुपंक्षी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीद्वारा जारी सूचनामा, आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाएको कारण बाध्य भएर यस्तो निर्णय लिनुपरेको उल्लेख गरिएको छ।
नगरपालिकाको १४औँ नगरसभाबाट गठन गरिएको सहजीकरण समितिले यो निर्णय गरेको हो। समितिमा नगरप्रमुख शमेसेर लामा संयोजक रहेका छन् भने उपप्रमुख देवेन्द्र लामा, वडा नं. २ का अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं. ५ का अध्यक्ष सीताराम तामाङ, वडा नं. ७ की अध्यक्ष सुमिता डल्लाकोटी र वडा नं. १२ का अध्यक्ष अर्जुन प्रजा सदस्य छन्।
समितिले जेठ १९ गते निर्णय गरेर, जेठ २५ गते सार्वजनिक सूचना जारी गरेको जनाइएको छ। यता, नगरपालिकाको यो निर्णयसँगै स्वास्थ्य संस्था, शाखा–उपशाखा, वडा कार्यालयहरू, कृषि तथा पशु सेवा केन्द्रजस्ता स्थानीय निकायका सेवा प्रभावित हुने देखिएको छ।
स्थानीय तहमा बजेट व्यवस्थापन, स्रोत सुनिश्चितता र राजनीतिक सहकार्य अभावका कारण उत्पन्न यस्तो निर्णयले नगरपालिकाभित्र प्रशासनिक अस्थिरता र सेवाप्रवाहमा थप अवरोध सिर्जना गर्न सक्ने विज्ञहरूको चेतावनी छ।
त्यसमाथि, नगरभित्रका जनप्रतिनिधिबीचको लामो समयदेखि चल्दै आएको विवादले पनि व्यवस्थापकीय निर्णयहरूमा असर पारेको जनाइएको छ।
स्थानीयवासीहरू भने यो निर्णयप्रति आक्रोशित छन्। “नगरपालिकाले कहिले सेवा विस्तार गर्ने भन्दै ढोंग गर्छ, कहिले यसरी कर्मचारी हटाएर जनसेवामै चोट पुर्याउँछ,” भण्डारा क्षेत्रका एक स्थानीय बासिन्दाले भने, “यसले स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा गम्भीर असर पार्नेछ।”
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस