after_navbar

गृह सचिवलाइ सातदिने स्पष्टीकरण


जेठ २७, २०८२


काठमाडौं,२६ जेठ । दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको आरोपमा गृह सचिव गोकर्णमणी दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात दिने स्पष्टीकरण सोधेको छ।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरेको विषयमा लिखित स्पष्टीकरण मागिएको हो।

हाल विदेश भ्रमणमा रहेका सचिव दुवाडीलाई पठाइएको पत्रमा दरबन्दी नभएका स्थानमा काजमा खटाइएका कर्मचारीहरूको विवरणसहित स्पष्ट कारण पेश गर्न भनिएको छ। यसअघि समाचार माध्यमहरूमा दरबन्दी नपुगेका ठाउँमा कर्मचारी खटाइएको तथा अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको खुलासा भएको थियो।

भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह सचिव दुवाडीका विश्वासपात्र मानिएका सहसचिव तीर्थ भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेपछि विमानस्थलस्थित अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको पाइएको थियो। त्यसपछि केही दिनअघि ती कर्मचारीहरूलाई फिर्ता गरिएको थियो।

अख्तियारले २०८२ जेठ १३ गते पत्र पठाउँदै उक्त विषयको छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो। निजामती सेवा ऐन, २०४९ को दफा १८(क) को उल्लङ्घन भएको भन्दै काजमा खटाइने कर्मचारी व्यवस्थापन गर्दा कानुन बमोजिमको प्रक्रिया नअपनाए तलब–भत्ता र सुविधा सम्बन्धित पदाधिकारीबाट असुल गर्न सकिने तथा विभागीय कारबाहीसमेत हुने चेतावनी दिइएको छ।

प्रधानमन्त्री कार्यालयले सात दिनभित्र सम्बन्धित कार्यालयहरूमा कार्यरत दरबन्दीभन्दा बढी कर्मचारी र उनीहरूको नामावलीसहितको विस्तृत विवरण पेश गर्न गृह सचिव दुवाडीलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="