after_navbar

सत्ता गठबन्धन भत्काएर संसद अवरोध खुलाइने


जेठ २७, २०८२


काठमाडौं, २६ जेठ। संसद्को अवरोध हटाउने र हालको सत्ता गठबन्धन भत्काउने गृहकार्य तीव्र रुपमा भइरहेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीसहित साना दलहरू मिलेर एमालेलाई बाहिर राख्ने नयाँ गठबन्धन बनाउने तयारी भइरहेको छ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट छन्। पछिल्ला दिनमा देउवा र प्रचण्डबीच भेटघाट बाक्लिएको छ, जसमा नयाँ गठबन्धन र संसद् अवरोध खुलाउने विषयमा छलफल भएको बताइएको छ।

प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामासहित उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेका थिए। तर अब छानबिन समिति बन्ने प्रतिबद्धता भए संसद् खोल्न तयार हुने लचिलो धारणा देखिएको छ।

यद्यपि रास्वपाले गृहमन्त्रीको राजीनामा माग अझै छाडिएको छैन भन्ने स्पष्ट पारेको छ। सांसद मनीष झाले छानबिनपछि राजीनामाको कुरा आउने बताए। अर्कोतर्फ, प्रचण्ड र देउवा दुवै रास्वपालाई साथमा राखेर अघि बढ्न चाहिरहेका छन्।

प्रधानमन्त्री ओली भने सत्ता गठबन्धन बलियो रहेको दाबी गर्दै आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने लक्ष्यमा केन्द्रित हुने बताए। संसदको बैठक आइतबार पटकपटक स्थगित भएपछि सोमबार फेरि बैठक बस्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="