काठमाडौँ,२६ जेठ । डेङ्गीको संक्रमण देशभर फैलिएको छ । मनसुनको आगमनसँगै नेपालभर डेङ्गीको संक्रमण फैलन थालेको हो । जनवरी १ देखि जुन ८ सम्म १ हजार २सय ५५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। हालसम्म ७२ वटा जिल्लामा संक्रमण फैलिएको छ। महाशाखाका अनुसार दाङका ३२ जनामा संक्रमण देखा परेको छ ।
सबैभन्दा बढी संक्रमित काठमाडौँमा छछन् । जहाँ एकसय ३२ जना संक्रमित छन् । त्यसैगरी कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७ र भक्तपुरमा ३० जना संक्रमित फेला परेका छन्।
महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्हरूले पानी बढी पर्ने अनुमान गरेका कारण संक्रमण थप फैलिने सम्भावना रहन्छ।
‘डेङ्गीलाई पूरै अन्त्य गर्न सकिने अवस्था त छैन, तर संक्रमण र मृत्यु दर घटाउन सकिन्छ, उनले भने- ‘ त्यसका लागि समुदाय, नागरिक र सबै निकायको साझा प्रयास आवश्यक छ।’ उनका अनुसार डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। यसबाट बच्न लामखुट्टे टोक्न नपाउने वातावरण बनाउनुपर्छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस