after_navbar

तुलसीपुरलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा


जेठ २८, २०८२


दाङ,२७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ पालिका घोषाणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका, , नगरस्तरीय खोप समन्वय समिति तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरको संयुक्त आयोजनामा मङ्गलबार एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नगरस्तरीय खोप समन्वय समितिका संयोजक टिकाराम खड्काको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा उक्त घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सुनिश्चितताको उद्देश्य कोही कसैलाई रोग नलागोस् भन्ने रहेको स्पष्ट पारे। रोग लागेपछि उपचार गर्नुभन्दा अगाडि नै जोगाउने उपायको रूपमा खोपलाई लिइनुपर्ने उल्लेख गर्दै उनले खोप र आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार भएको बताए। बालबालिकाले खोप पाउनु अधिकार हो भने सेवा उपलब्ध गराउनु सम्बन्धित निकायको जिम्मेवारी भएको उनको भनाइ थियो।

उनले संघ र प्रदेश सरकारले ठूला योजना र पूर्वाधार निर्माण गर्ने भएकाले स्थानीय सरकारहरू सुत्केरी सेवा जस्ता आधारभूत र संस्थागत कार्यक्रमप्रति गम्भीर हुनुपर्ने धारणा राखे। मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन स्थानीय पालिकाहरूको भूमिका निर्णायक हुने बताए । ‘मातृशिशु मृत्युदर घटाउन प्रदेश सरकारले प्ररणादायी परियोजना ल्याएको छ, यसमा रहेर स्थानीय सरकारले काम गर्नूपर्छ, उनले भने–‘ पूर्ण संस्थागत सुत्केरी सेवालाई ध्यान दिनुहोला, प्रभावकारी ढंगले कार्यान्वयन गर्नुहोला ।’

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले स्वास्थ्य क्षेत्रमा राम्रो परिणाम देखाउन नसकिएसम्म समाजमा वास्तविक सुधार आउन नसक्ने बताए। तथ्यांक र विश्लेषणका आधारमा पालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गरेको उल्लेख गर्दै उनले यो उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले परिणाममुखी कामलाई प्राथमिकतामा राख्दै जनताको विश्वास जित्ने खालका सेवा प्रवाह गर्नुपर्ने बताए।


त्यसैगरी उपप्रमुख स्यानी चौधरीले जनताको सेवाभावलाई आत्मसाथ गरेर काम गर्नुपर्ने बताइन् । स्वास्थ्य क्षेत्र सेवा क्षेत्र भएकाले कुनैपनि पूर्वाग्रह नराख्न अनुरोध गरिन् । सबै आफ्नो ठाउँमा पदीय जिम्मेवार अनुसार प्रतिवद्ध भएर काम रे पालिकालाई सुन्दर र स्वस्थ बनाउन सकिने उनले बताइन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले खोप कार्यक्रम सरकारको प्राथमिकतामा परेको र जनताले अत्यन्तै रुचाएको कार्यक्रम भएको उल्लेख गरे। उनले खोपमार्फत १३ प्रकारका प्राणघातक रोगहरूबाट बालबालिकालाई जोगाउन सकिने बताउँदै बार्है महिना निरन्तर सेवा दिइरहेको बताए ।

खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन घर–घरमा पुगेर अनुगमन गरिएकाले नै सबै बालबालिकाले खोप सेवा प्राप्त गर्न सफल भएको जानकारी दिए। तुलसीपुरमा ६४ भन्दा बढी खोप केन्द्रहरूबाट सेवा दिइँदै आएको उनले बताए। खोप मात्र हैन, अभिभावकलाई आवश्यक परामर्श सेवा दिनु पनि उत्तिकै जरुरी रहेको उनको भनाइ थियो।

घोषणा कार्यक्रममार्फत तुलसीपुर उपमहानगरपालिकामा १६ देखि २३ महिनासम्मका २८१९ बालबालिका, २४ देखि ५८ महिनासम्मका ६९८१ बालबालिका गरी जम्मा ९८०० बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको जानकारी दिइएको थियो। खोप कार्ड लिएका बालबालिकाको संख्या ९७२२ रहेको जनस्वास्थ्य प्रवद्र्धन शाखाको तथ्यांकमा उल्लेख छ ।
जनस्वास्थ्य प्रवद्र्धन शाखाकी राधिका गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वस्थ्य निरीक्षक एवम् खोप फोकल पर्सन बिमल केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="