जाजरकोट,२७ जेठ । भेरी नदीमा बगरे बेपत्ता भएका तीनैजना बालालिकाको शव फेला परेको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैमा भेरी नदीमा पौडी खेल्ने क्रममा उनीहरू शुक्रबार बेपत्ता भएका थिए ।
शुक्रबार दिउँसो नदीमा नुहाउन गएका उनीहरू बेपत्ता भएका थिए। प्रहरीका अनुसार उनीहरूको शव विभिन्न समयमा फेला परेको हो। प्रहरीका अनुसार १२ वर्षीया आशा कुसारीको शव सोमबार साँझ ६ बजेतिर घटनास्थलदेखि करिब ४ किलोमिटर दक्षिण चापाखोला नजिक फेला परेको थियो ।
यसअघि नै १६ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए। भगवती नेपाली टेकबहादुर नेपालीकी छोरी हुन् भने महेश र आशा सुरेन्द्र कुसारीका सन्तान हुन् ।
तीनै जना शुक्रबार दिउँसो विद्यालयबाट फर्किएपछि भेरी नदीमा नुहाउन गएका थिए। उनीहरू नियमित रूपमा नदीमा पौडी खेल्ने गर्दथे । सोही दिन पनि उनीहरू पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए ।
डिएसपी शर्माका अनुसार, सुरूमा महेश बगेपछि उनलाई बचाउन आशा र भगवती पनि नदीमा पसेका थिए। अन्ततः तीनै जना बगेर बेपत्ता भए।
उनीहरू बेपत्ता भएलगत्तै रूकुम पश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो। भगवतीलाई अचेत अवस्थामा उद्धार गरी आठबिस नगर अस्पताल र्पुयाइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । महेशको शव घटनास्थलभन्दा करिब ९ सय मिटर तल शुक्रबार साँझ ४ बजे फेला परेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस