दाङ २७ जेठ । दाङमा अवैध वन पैदावारसहित एक व्यक्ति पक्राउ परेका छन्। लमही नगरपालिका वडा नम्बर ९ अमिलिया स्थित पूर्वपश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिएका व्यक्ति यार्सागुम्बा र अन्य अवैध वन पैदावार सहित पक्राउ परेका हुन्।
लु ५४ प ७८२७ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा एक पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएको सूचनापछि प्रहरीले मोटरसाइकल चालकलाई खोजी गर्दा उनीसँग शंकास्पद झोला फेला परेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ४८ वर्षीय शिवचन्द्र बुढा रहेका छन् । उनी जुम्लाको सिंजा गाउँपालिका–४ स्थायी बासिन्दा भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बसोबास गर्दै आएका छन्।
प्रहरीका अनुसार दुर्घटनापछि पक्राउ पर्ने डरले उनले लमही–९ को एक घरमा झोला लुकाएका थिए। कसैले थाहा नपाओस भन्ने मनासयसहित उनले स्थानीय रिता चौधरीको घरमा थाहा नै नदिई झोला लुकाएका थिए ।
प्रहरीले झोला फेला पारेर जाँच गर्दा ४९५ ग्राम यार्सागुम्बा, कस्तुरीको विना जस्तो देखिने विभिन्न रंगका ढक्कन भएको डिब्बामा क्रमशः ४०–४० थान (हरियो र पहेलो), १८ थान रातो ढक्कन भएको सामग्री र केही साना धुलोका कणहरू बरामद गरिएको जनाइएको छ।
शिवचन्द्र बुढालाई बरामद वन पैदावारसहित आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, लमहीमा बुझाइएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस