काठमाडौँ, २८ जेठ । अमेरिकाको लस एन्जलस सहरमा संघीय आप्रवासन कडाइको विरोधमा भइरहेको प्रदर्शन पाँचौँ दिनमा प्रवेश गरेसँगै आंशिक कर्फ्यु लगाइएको छ। प्रदर्शन नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल गार्डको परिचालन तीव्र बनाएका छन्।
लस एन्जलसकी मेयर करेन बासले राति ८ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्युको घोषणा गरेकी हुन्। उनले भनेकी छन्, “सहरभरि ठूलो क्षति पुगेको छ। जनधनको सुरक्षाका लागि कर्फ्यु आवश्यक भएको हो।” उनका अनुसार यो कर्फ्यु केही दिनसम्म जारी रहन सक्छ।
करिब १ वर्ग माइल क्षेत्रमा लागू भएको कर्फ्युका कारण जनजीवन प्रभावित भएको छ। कर्फ्यु लागू भएपछि लस एन्जलस प्रहरी विभागले मंगलबारदेखि सामूहिक गिरफ्तारको कार्य सुरु गरेको छ। प्रहरीले आदेश उल्लंघन गरेर अवैध रूपमा भेला भएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
प्रहरी प्रमुख जिम म्याकडोनेलले सहरमा बढ्दो अशान्तिलाई दृष्टिगत गर्दै कर्फ्यु लगाउनु परेको बताएका छन्। उनले चेतावनी दिए, “कर्फ्यु उल्लंघन गर्ने जो–कोहीलाई पनि पक्राउ गरिनेछ।”
सुरक्षा निकायका अनुसार शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना र मङ्गलबार १९७ जनालाई पक्राउ गरिएको छ।
यसअघि राष्ट्रपति ट्रम्पले आप्रवासीमाथिको छापा अभियानको विरोधमा भइरहेका प्रदर्शन नियन्त्रण गर्न थप २ हजार नेसनल गार्ड परिचालनको अनुमति दिएका थिए। पेन्टागनका अनुसार अहिले लस एन्जलसमा संघीय आदेशअनुसार परिचालित सुरक्षाकर्मीको संख्या ४ हजार १ सय नाघिसकेको छ।
प्रदर्शनको प्रभाव टेक्साससम्म फैलिएको छ। टेक्सासका गभर्नर ग्रेग एबटले पनि राज्यका विभिन्न स्थानमा टेक्सास नेसनल गार्ड परिचालन गर्ने बताएका छन्। ट्रम्प प्रशासनविरुद्धको विरोध हाल न्युयोर्क, सिकागो, सिएटल, डेनभर, सैन फ्रान्सिस्को र एटलान्टाजस्ता सहरहरूमा पनि फैलिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस