दाङ, जेठ २८ । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै एक युवकले आक्रमणको प्रयास गरेका छन्।
सोही गाउँपालिका वडा नं. ७ चरकमटियाका सुरेश हमालले अध्यक्षको कार्यकक्षमा प्रवेश गरी एकाएक हेलमेट प्रहार गरेका थिए। घटनाको समयमा अध्यक्ष खत्री कार्यकक्षमै बसिरहेका थिए।
खत्रीले बताएअनुसार योजना माग्न गाउँपालिकामा आएका पूर्णबहादुर मास्की र कार्यपालिका सदस्य नारायण परियारले आक्रमणकारीलाई धकेल्दै आफूलाई जोगाएका थिए। आक्रमणबाट मास्कीको कोखामा चोट लाग्नुका साथै चश्मा समेत फुटेको जनाइएको छ।
आक्रमणपछि सुरक्षाको लागि कार्यपालिका सदस्य परियार, मास्की लगायतले हमाललाई नियन्त्रणमा लिई कार्यकक्षबाट बाहिर पठाएका थिए। अध्यक्ष खत्रीले हमालले कार्यकक्षमा तोडफोड पनि गरेको र एउटा दराजसमेत फुटेको जानकारी दिए।
घटनाको पछाडि झारगजेरी घाटमा हमालले बिना अनुमति नदीजन्य सामग्री ९बालुवा, गिट्टी० उत्खनन् गर्दै आएको र रोक लगाउने प्रक्रियामा आफूमाथि आक्रमण भएको खत्रीको दाबी छ। असार महिनापछि नदी तथा खोला जन्य वस्तुको उत्खनन्मा पूर्ण रोक लगाइने प्रक्रिया सुरु हुने भएकाले हमाल आक्रोशित भएको अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काका अनुसार हमालले समयमै खोलाजन्य वस्तुको ठेक्का नखुलेको भन्दै आक्रमणको प्रयास गरेका हुन्।
“तपाईंले समयमै बालुवा, गिट्टीका लागि ठेक्का किन खोल्नु भएनरु अब त असार लाग्न लाग्यो, काम गर्न पाइँदैन,” भन्दै आक्रमण गरिएको बुझिएको छ,” प्रहरी निरीक्षक खड्काले बताए।
अध्यक्ष खत्रीले सुरेश हमालविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। हाल हमाल फरार रहेका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस