दाङ,२८ जेठ । दुई समुहबिच झडप हुँदा कपिलवस्तुमा ९ जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–५ बभनीमा बुधबार दिउँसो दुई स्थानीय समूहबीच झडप हुँदा ९ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणी अधिकारीका अनुसार बगैँचाबाट आँप चोरेको आरोप लागेपछि विवाद सुरु भएको थियो, जसले उग्ररूप लिएर झडपमा परिणत भएको हो।
घटनामा एक समूहबाट ७ जना र अर्को समूहबाट २ जना गरी कुल ९ जना घाइते भएको अधिकारीले जानकारी दिए। घाइते हुनेमा ३० वर्षीय शैलेन्द्रकुमार खरबिन, ५५ वर्षीय रामप्रसाद यादव, १५ वर्षीय बरजु यादव, १९ वर्षीय मनिष कलवार, २१ वर्षीय हरिराम यादव, ३५ वर्षीय दिपक धोबी र ५५ वर्षीय रामप्रसाद यादव छन्। घाइतेहरूमध्ये रामप्रसाद यादवको अवस्था गम्भीर रहेको जनाइएको छ।
अर्को समूहका घाइतेहरूमा २१ वर्षीय सरफोदिन बनिया र ३५ वर्षीय रमजात मुसलमान छन्।
झडपपछि घाइतेहरूको भैरहवा मेडिकल कलेज र जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न भएको आरोपमा बभनीका १९ वर्षीय मोहम्मद हुसेन मिया, २१ वर्षीय इरफान खाँ, २८ वर्षीय फैजुला रेहमान सेख र १५ वर्षीय सोयल अहमद मियालाई प्रहरीले पक्राउ गरेको छ।
दुई समूहका युवा लाठीसहित भिडेपछि मर्यादपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस