दाङ,२८ जेठ । दाङका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। संघीय सरकारले सुनका गरगहनामा विलासिता कर र बहुमूल्य बस्तुहरूमा भ्याट लगाउने नयाँ नीति ल्याउन लागेको विरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन् ।
आगामी आर्थिक वर्षदेखि लागू हुने भनिएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको प्रस्ताव विरुद्ध व्यवसायीहरुले हस्ताक्षर संकलन तथा विरोधका कार्यक्रम सञ्चालन गरेका छन्।
बुधवार तुलसीपुर, घोराही र लमहीमा सुनचाँदी व्यवसायी संघको अगुवाइमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको हो। तुलसीपुरमा आयोजित कार्यक्रममा संघका उपाध्यक्ष मनोज शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको महासचिव तुलसीराम सुनारले जानकारी दिए।
कार्यक्रममा संघका सल्लाहकार मिनराज वली र निवर्तमान उपाध्यक्ष ईन्द्रविर डाँगीले सरकारले ल्याउन लागेको नीति व्यवसायी र ग्राहक दुवैको हित विपरीत रहेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।
व्यवसायीहरुको भनाइमा हालको आर्थिक अवस्था, बजारमा देखिएको मूल्य अस्थिरता र घट्दो ग्राहक क्रय क्षमतिका बीच सरकारले यस्तो कर लगाउनु अनुचित छ। उनीहरुले सुनचाँदीलाई केवल व्यापारिक वस्तु नभई नेपाली समाजको संस्कृति, परम्परा र संस्कारसँग जोडिएको बस्तु भएकाले यसको कारोबारमा अतिरिक्त करको भार थोपर्न नहुने बताएका छन्।
यस्तै घोराहीमा पनि घोराही सुनचाँदी व्यवसायी संघको आयोजनामा विरोध कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त निर्देशनअनुसार जिल्ला स्तरमा विरोधका कार्यक्रमहरू सञ्चालन गरिएको महासचिव सुनारले जानकारी दिए।
विरोधका कार्यक्रमको निरन्तरतास्वरूप बिहीवार दाङका सम्पूर्ण सुनचाँदी पसलहरू बन्द गरिने भएका छन्। साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि घोराहीमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको व्यवसायी संघले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस