भिम मरासिनी, ३१ जेठ । दाङमा एकैदिन १३३ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा सो सँख्याले रक्तदान गरेका हुन् । तुलसीपुर र घोराहीमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदै रक्तदाताहरूले रक्तदान गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
शनिवार तुलसीपुर नगर जेसीज, घोराही नगर जेसीज र मानव धर्म सेवा समिति तुलसीपुरको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा क्रमशः १४,४० र ७९ पिन्ट गरी जम्मा १३३ पिन्ट रगत संकलन गरिएको हो।
रक्तदान कार्यक्रममा पहिलो पटक सहभागी भएकी तुलसीपुर–८ की पार्वती बस्नेतले पहिलोपटक रक्तदान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन्। “रक्तदानले कमजोर बनाउँछ भन्ने मानसिकता गलत हो,” उनले भनिन, “अब स्वास्थ्यले साथ दिएसम्म म नियमित रक्तदान गर्छु। यस्तो मानवीय पुण्य कार्यमा सबैले सहभागी हुनु जरुरी छ।”
हाल दाङ जिल्लामा लमही, घोराही र तुलसीपुर गरी तीनवटा रक्तसञ्चार केन्द्रहरू सञ्चालनमा छन्। ती केन्द्रहरूबाट दैनिक २५ देखि ३० पिन्ट रगत खपत हुने गरेको छ। तर रक्तदान गर्नेको संख्या भने अपेक्षित रूपमा उत्साहजनक छैन। विशेषगरी चेतनाको अभावका कारण शिक्षित वर्ग पनि रक्तदान गर्न हिच्किचाउने गरेको पाइएको छ।
यद्यपि, अहिलेसम्म जिल्लामा नियमित रक्तदाता र विभिन्न संघ–संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमहरूमार्फत आवश्यक मात्रामा रगत संकलन हुँदै आएको र त्यसैले पनि कुनै अप्ठ्यारो परिस्थिति सिर्जना हुन नपरेको स्वास्थ्य संस्थाहरूले जानकारी दिएका छन्।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, १८ वर्ष पुरा गरेका र कम्तीमा ४५ किलोग्राम तौल भएका स्वस्थ पुरुषले प्रत्येक ३ महिनामा र महिलाले प्रत्येक ४ महिनामा रक्तदान गर्न सक्नेछन्। रगतको माग केवल स्वस्थ व्यक्तिको शरीरबाट मात्र पूर्ति गर्न सकिने भएकाले रक्तदान आवश्यक भएको उनीहरू बताउँछन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस